इटहरी । निर्वतमान सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीलाई सुरक्षा प्रदान गर्न प्रेस युनियन सुनसरीले माग गरेको छ ।
प्रेस युनियन सुनसरीले एक विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रो कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीलाई सुरक्षा प्रदान गर्न सरकारसमक्ष माग गरेको हो । शिवाकोटीले तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याएकै भरमा सुरक्षा थ्रेट बढेको भन्दै तत्काल सुरक्षा व्यवस्था नमिलाए कडा आन्दोलन गर्ने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष धनबहादुर पुरीले चेतावनी दिए ।
विज्ञप्तिमा समाचार लेखेकै विषयमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्था आए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । ‘लोकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनु गम्भिर विषय हो । सामाजिक सञ्जालहरूमा पत्रकारलाई तल्लो स्तरमा गालीगलौजसमेत गर्ने हुर्मत गरिएकोप्रति आपत्ति प्रकट गर्दछौ’ पुरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।