भद्रपुर/ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ । भद्रपुर नगरक्षेत्रमा अहिले दर्जनौँ योजनाका कामहरू निर्माणाधीन अवस्थामा सञ्चालित रहेका छन् । त्यसमध्ये अधिकांश निर्माणस्थलमा इञ्जिनियरसहितको टोली नखटिँदा भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेका योजनाका कामहरू गुणस्तरहीन पाइएको हो ।
भद्रपुर–५, ६ र ८ सँग जोडिएको सङ्गम चोकदेखि जनता चोकसम्मको इँटाजडित सडक नालाको काम धमाधम भइरहेको छ । भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराएका थिए । जानकारीपश्चात् नगरप्रमुख जीवनकुमार श्रेष्ठले सडक नाला भत्काउन लगाएका छन् ।
सडक नाला तोकिएको मापदण्डविपरीत ठेकेदारले गुणस्तरहीन बनाउन शुरु गरेपछि नगरप्रमुख श्रेष्ठले आइतबार दिउँसो नाला भत्काउन लगाएका थिए । निर्माण गरिएको सो नाला दुई घण्टा नबित्दै भत्काइयो थियो । निर्माण कार्यमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरिरहेको स्थानीयको दाबी छ ।
माटो मिसाएको बालुवा, त्यसमाथि बालुवा र सिमेन्टको मात्रा मापदण्डअनुसार मिसावट नगरी नाला बनाउन थालेको वडासदस्य प्रकाश शर्माले बताए । नाला बनाउने समयमा आएर हेर्दा बालुवा र सिमेन्टको मात्रा नमिलेपछि तत्काल कामदारलाई खबरदारी गरेर हिँडेको उनले बताए ।
अरूले पनि गुनासो गरेपछि नगरप्रमुख श्रेष्ठले इञ्जिनियर बोलाएर नाला भत्काउन आदेश दिएको उनले बताए । सडक नाला बाङ्गो त्यसमाथि गुणस्तरहीन काम भइरहेको स्थानीय बाबुलाल अग्रवालले बताए । मापदण्डबमोजिम ठेकेदारले काम नगरेको विषयमा जनगुनासो आइरहेको स्थानीय दीपक अग्रवालले बताए ।
यस विषयमा जनप्रतिनिधि र स्थानीय दुवै पक्षले खबरदारी गर्न जरुरी रहेको उनले बताए । नालामा कमसल इँटाको समेत प्रयोग भइरहेको स्थानीयको दाबी छ । कमसल इँटा प्रयोग गरेर निर्माण गरिरहेको दखिए पनि निर्माण कम्पनीका इञ्जिनियर र नगरपालिका इञ्जिनियरले समेत चासो नदेखाएको स्थानीयको आरोप छ ।
एक नम्बर प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५÷७६ मा समपूरक कोषमार्फत् सङ्गम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनः निर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरिएको थियो ।
सोही बजेटमार्फत् नगरपालिकाले न्यूनतम् अङ्क करिब एक करोड १८ लाख तोकेर सूचना प्रकाशन गरेको थियो । २०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । करिब ५ सय ४० मिटर सडकको दुवैतर्फ इँटासहितको सडक नाला आउँदो पुस १९ गतेसम्म ठेकेदारले बनाइसक्नुपर्ने सम्झौता भएको इञ्जिनियर रञ्जितकारको भनाइ छ ।
सडक नालामा माटो मिसाएको बालुवा प्रयोग गरेको पाइएकोले मेयरले नाला भत्काउन लगाएको उनले बताए । ठेकेदारले कामदारको भरमा निर्माण कार्यलाई जथाभाबी छाडेकाले नाला गुणस्तरहीन बनेको उनको ठम्याइ छ ।
































