जिरोपोइन्ट / प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको बदलिदो समय र परिस्थितिअनुसार नै सञ्चारमाध्यमहरु पनि परिवर्तन हुन जरुरी रहेको औल्याएका छन् । उनले सूचना र सञ्चार माध्यम समाजका लागि अति आवश्यक रहेको बताउँदै संचारमाध्यम कै साथमा विकास र समृद्धिका निम्ति प्रदेश अघि बढिरहेको बताएका छन् ।
विहिबार धरानमा पूर्व क्षितिज प्रकाशन प्रालिद्वारा सञ्चालित धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम राष्ट्रिय दैनिकको रजत महोत्सव समारोहलाई सम्बोधन गदैं यसले यस्तो बताएका हुन ।
प्रदेश सरकारले सूचना र सञ्चार क्षेत्रलाई उच्चतहमा राखेको समेत बताए । उनले आजको संविधान र संघीयताको कार्यान्वयनमा सरकारले प्राप्त गरेका सफलता र उपलब्धिहरुलाई संस्थागत गर्ने कुरामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहदै आएको समेत बताएका छन् । उनले विकास र समृद्धि संघीय प्रणालीको बाटोबाट नै सम्भव रहेको बताए । उनले संघियताले मात्रै नेपालको हिमाल, पहाड, तराई र सबै भाषा, धर्म, संस्कृति, जनजातिलाई जोड्ने र बचाउन सक्ने जोड दिएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले व्लाष्ट दैनिकको योगदानको चर्चा गर्दै संचार माध्यमबाट समाजलाई सही दिसा दिन ठूलो योगदान दिएको बताए । उनले भने, ‘व्लाष्ट दैनिकले प्रादेशिक समाचारलाई प्राथमिकता दिएपनि अव यो राष्ट्रिय स्तरमा पुगिसकेकाले राष्ट्रिय समाचारलाई पनि महत्व पुर्ण स्थान दिनु पर्ने भएको छ ।’ आर्थिक मामिला मन्त्री इन्द आङ्बोले लोकतन्त्र, गणतन्त्र र संघीयता प्राप्तीकालागि व्लाष्टले अतुलनीय योगदान दिएको चर्चा गरे ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले समाज परिवर्तनकालागि संचार क्षेत्रको भूमिका महत्वपुर्ण भएकाले व्लाष्ट दैनिकले अवको वदलिदो परिस्थिति अनुसार आफ्नो भुमिकालाई थप शसक्त बनाउन सझुाव दिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्लाष्ट दैनिकलाई शुभकामना दिदै खवरदारी गरिरहन सुझाव दिए । व्लाष्ट दैनिकका प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले आगन्तुक सवैलाई स्वागत सम्मान गर्दै ब्लाष्टको अहिलेसम्मको यात्राको विषयमा बताए । उनले भने, ‘सङ्घीय सरकारले विज्ञापनमा जुन ‘क्लिन फिड’ नीति ल्याउन खोज्दै छ, त्यसले हाम्रोजस्तो सङ्घर्षशील परम्परा भएका मिडियामा केही आशाको सञ्चार गरेको छ ।’
उनले विदेशी च्यानल, युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा विज्ञापनमार्फत् बाहिरिने पैसालाई रोक्न सरकारको कदमले सघाउ पु¥याउने बताए । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग हामी निकै आशावादी भएको बताए । उनले भने, ‘कुनै पनि कुराको परिणाम तत्काल नहुन सक्छ । धान रोपेपछि पाक्न ३ महिना लाग्छ । विद्यार्थीलाई माथिल्लो कक्षा पुग्न १ वर्ष लाग्छ । तर हामी सरकारबाट तुरुन्त परिणामको अपेक्षा गरिरहेका हुन्छौं । नेपाल सरकारले बीआरआई, बिमस्टेकजस्ता छिमेकी मुलुकका कार्यक्रमहरूमा प्रतिबद्धता जनाउनुले र केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गप्रतिको प्रतिबद्धताले हाम्रो भविष्यका सुखद् आधारहरू तयार हुनेतर्फ सङ्केत गरिरहेको छ । यी सबै कुरामा हामी नकारात्मक वा सकारात्मक दुवै पाटोबाट विश्लेषणयुक्त सामग्री दिने प्रयास गरिरहेका छौं ।’
उक्त समयमा बोल्दै प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अबको समयमा सञ्चारमाध्यमहरुले सशक्तरुपमा सूचना प्रवाह गर्नुपर्ने बताएका छन् । उनले अबको समयमा सशक्त रूपमा अझ बलियो भएर सञ्चार माध्यम प्रस्तुत हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा ब्लाष्ट टाइम दैनिकलाई निरन्तररुपमा सल्लाह र सहयोग प्रदान गर्ने शैक्षिक संस्थाहरुलाई सम्मान गरिएको थियो । साथमा कार्यक्रममा प्रदेश सरकारको म अघि बढ्छु कार्यक्रमअन्तर्गत ब्लाष्ट रजत महोत्सव वक्तित्वकला प्रतियोगितामा प्रथम हुने उदयपुरका सुनिल घिमिरे, दोस्रो हुने बराहक्षेत्रकी स्मारीया पोख्रेल, तेस्रो हुने एमी गुरुङलाई क्रमशः १२, ८ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । साथै कविता प्रतियोगिताका विजेता हुने प्रदिप योङहाङ, दोस्रो हुने सरोज मर्डी सतार र तेस्रो हुने सुदिप विष्टलाई क्रमश ७, ५ र ३ हजारले पुरस्कृत गरिएको थियो ।
































