विराटनगर / १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार दिउँसो विराटनगरमा बालबालिकासँग सरकार प्रमुख र मन्त्रीबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर जुराएको थियो । कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुले बाक्लो सहभागिता थियो । उनीहरुले खुलेर समाजमा अहिले पनि घटेको विकृति र हिंसाका घटना नियन्त्रण र बालवालिकाहरू कहिलेसम्म निर्धक भएर हिडन सक्ने लगायतको एक दर्जन बढी प्रश्न प्रदेशका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरमन्त्रीलाई राखेका थिए । जवाफ दिनका लागि मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री घिमिरे र प्रदेश योजना आयोगका अध्यक्ष सुबोधराज प्याकुरेल मञ्चमा थिए ।
मोरङ कटहरी गाउँपालिकाकी कक्षा १२ मा अध्ययनरत छात्रा स्मृती तिम्सिनाले मुख्यमन्त्री राईलाई पहिलो प्रश्न राखिन् । उनले ‘छोरीलाई १० कक्षाभन्दा बढी पढाउनु पर्दैन, बरु विवाह गरिदिनुपर्छ भन्ने मान्यताका विरुद्धमा सरकारले किन कार्यक्रम बनाउँदैन र यस्ता कार्यक्रम गाउँमा किन गरिदैन जहाँ चेतना आवश्यक छ ?’ स्मृतिले राखेको पहिलो प्रश्नको जवाफ दिदै मुख्यमन्त्री राईले भने, ‘हामी क्रमस गाउँ जान्छौं, पहिलो पटक प्रदेश सरकारले बालबालिकासँग छलफल र अन्तरक्रियाको सुरुवात यहाँबाट गरेको हो । यसको शुभराम्भ भएको छ । अब प्रदेशका १४ जिल्ला र गाउँसम्म पुगेर यो अभियान चलाउँछौं ।’ अभाव, गरिबी, सांस्कृतिक प्रचलन आदि कारणले उमेर नपुग्दै विवाह गर्ने प्रचलन छ तर अब सबै विद्यार्थीहरु बालविवाह विरुद्धको अभियानमा सहभागि बन्नुपर्छ र कानून कार्यान्वयन गराउन लाग्नुपर्ने मुख्यमन्त्रीको भनाइ थियो ।
स्मृतिले राखेको प्रश्नको जवाफ मुख्यमन्त्रीले दिएपछि मोरङ बेलबारीकी कक्षा ११ मा अध्ययरत समिक्षा सुवेदीले दोस्रो प्रश्न राखिन् । ‘बालबालिकामाथि यौनहिंसा, शोषण र उत्पीडन भइरहेपनि भएका कानून किन प्रभावकारी बनिरहेका छैनन् ?’ मुख्यमन्त्री राईले समिक्षाको प्रश्न र त्यसले उठाएका विषयहरुप्रति सरकार संवेदनशिल रहेको जवाफ दिए । उनले नागरिककालागि सुरक्षा दिनु सरकारको पहिलो दायित्व भएको र सबैलाई भयमुक्त बनाउदै अपराधमुक्त समाज निर्माणकालागि सरकार प्रयत्न गरिरहेको जवाफ दिए ।
सुन्दरहरैंचाका विद्यार्थी मदन भण्डारीले सन् २०२५ सम्ममा प्रदेशलाई बालविवाहमुक्त बनाउने घोषणा भएपनि त्यसकालागि कस्ता कार्यक्रमहरु बनेका छन् भनेर सामाजिक विकासमन्त्री घिमिरेलाई प्रश्न सोधेका थिए । जवाफमा मन्त्री घिमिरेले सरल कानून तर्जुमा र त्यसलाई कार्यान्वयन गर्ने संरचनाको निर्माण गर्दै व्यापक अभियान मार्फत सन् २०२५ भित्रै बालविवाहमुक्त प्रदेश बनाउने दाबी गरे । उनले घोषणाले मात्र नहुने बरु सबैलाई अभियानमा सहभागि गराएर उद्देश्य पुरा गर्ने सरकारको योजना सुनाए ।
अन्तरक्रिया कार्यक्रममा सहभागि बालवालिकाहरूले एक दर्जन बढी मुख्यमन्त्री र मन्त्रीलाई सोधेका थिए । बालवालिाकहरूले राधेको प्रश्न उनीहरूको जिज्ञासा मुख्यमन्त्री, मन्त्री र प्रदेश योजना आयोगका अध्यक्षले जवाफ दिएका थिए ।
सोही कार्यक्रममा बाल गायक गायक प्रीतम आचार्यलाई सम्मान गरिएको थियो । भारतमा भएको चिर्चित रियालिटी शो सारेगमप लिटिल चाम्स २०१९ मा फस्ट रनरअप भएका प्रीतमलाई मुख्यमन्त्री राई, मन्त्री घिमिरे लगायतले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । बाल गायक आचार्यले सोही कार्यक्रममा नेपाली गीत पनि प्रस्तुत गरि सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
































