इनरुवा / सप्तकोशीको बहावमा आएको उतारचढावसँगै श्रीलंका टापुसहितका केहि क्षेत्रमा नदीले कटान थालेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशैभरको मौसममा बदली भई मनसुनी गतिविधि सकृय हुँदा पूर्वीसहितका भेगमा दुई दिनयता वर्षा भैरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले मौसममा आएको बदलीसँगै कोशीसहितका नदीको जलस्तर बढेसाँगै तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरिरहँदा सप्तकोशी नदीको बहावमा समेत उतारचढाव देखिएको छ ।

सोमबार १ लाख क्यूसेक प्रतिसेकेण्डको हाराहारीमा रहेको कोशीको वहाव मंगलवार २ लाख ३५ हजार २ सय २५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । प्रहरीका अनुसार कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

टप्पुका  १५ घर परिवार विस्थापनकाे खतरामा 

नदीको बहावमा आएको उतारचढावसँगै श्रीलंका टापुसहित कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासको केहि क्षेत्रमा नदीले कटान थालेको छ । स्थानीयहरुले नदी किनारमा माटो धस्ने क्रम जारी रहेको बराहक्षेत्र नगरपालिका वडा नं. ६ नंं. वडाका वडा सदस्य श्याम लिम्बुले जानकारी दिए । उनका अनुसार १५ घर परिवार विस्थापीत हुन लागेका छन्र । सप्तकाेशी उनीहरूकाे घरदेखि २५ मिटर मात्र दुरी रहेकाे उनले बताए ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी बिनोद शर्माले आरक्ष आसपाससहितको केहि क्षेत्रमा कटान लागेको भन्ने सूचना प्राप्त भएको बताउँदै माथिल्लो निकायमा जानकारी गराइएको बताए ।

मौसम पूर्वानूमान महाशाखाले तीन दिन मौसममा बदली रही पानी पर्न सक्ने जनाएको छ । बाढी मापन केन्द्र चतराकै मंगलवार बिहानको मापनलाई आधार मानी बाढी पूवार्नुमान महाशाखाले कोशीको तटीय क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरेको थियो ।

मंगलवार विहानको मापन अनुसार चतरा मापन केन्द्रमा पानीको सतहले सर्तकर्ता तह अर्थात ५ मिटर ६ सेन्टिमिटर पार गरेको थियो । यद्यपी दिउँसोबाट भने चतरामा समेत पानीको वहावमा कमी आएको छ । नदीको वहाव सर्तकता तहभन्दा तल झरेको मापन केन्द्रका हरिबहादुर कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सप्तकोशी नदीको वहावमा सामान्य उतारचढाव रहेपनि खतरा भने नभएको बताए ।