पाँचथर । पूर्वी पहाडलाई तराईसँग जोड्ने दु्रतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।
सुनसरीको चतराबाट धनकुटाको मूलघाट, पाँचथरको माझिटार–अमरपुरडाँडा हुँदै गणेश चोक जोड्ने सडकको ट्रयाक खोल्ने काम सम्पन्न हुन लागेको हो । उक्त सडकको पाँचथरस्थित हिलिहाङ–५, सुभाङमा पाँच सय मिटिर ट्रयाक पूरा हुन बाँकि छ ।

त्यस्तै पाँचथरकै माझिटारमा करीब १२ सय मिटर ट्रयाक पूरा हुन बाँकि रहेको आयोजना हेर्दै आएको मध्यपहाडि लोकमार्गको फिदिमस्थित कार्यालयका सूचना अधिकारी इन्जिनियर सिगु खत्रीले बताए ।

१ सय ४८ किलोमिटर दुरीको करिडोरको अन्य स्थानमा करीब ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको इन्जिनियर खत्रीको भनाई छ । आयोजनाको ट्रयाक खोल्नेदेखि ग्रावेल गर्ने सम्मको काम सात वटा प्याकेजमा भइरहेको छ । सडकको ट्रयाक खोल्ने काम २०७४ फागुनदेखि सुरु भएको इन्जिनियर सिगुको भनाई छ ।

करिडोरको गणेशचोक–मुक्तुुरा खोला, मुक्तुराखोला–सिवा दोभान, सिवा दोभान–लोरिपा दोभान, लोरिपा दोभान–नावाखोला, नावाखोला–लेउती पुल, लेउती पुलदेखि सानो सफाई धनकुटा र सानो सफाईदेखि चतरा गरी सात प्याकेजमा काम भइरहेको आयोजनाको पाँचथर खण्ड हेर्दै आएका इन्जिनियर लालकिसोर यादवले बताए ।

आयोजनाको ट्रयाक र ग्रावेलसम्मको काम विभिन्न निर्माण कम्पनिहरुले गरिरहेका छन् । ट्रयाक खोलेपछि ग्रावेलको काम समेत भइरहेको छ । निर्माण कम्पनिहरुले काम सुरु गरेको ३० महिनामा काम सम्पन्न गर्नुपर्नेछ । ट्रयाक र ग्रावेलको काम सम्पन्न भएपछि नयाँ टेन्डर आह्वान गरी कालेपत्रेको काम सुरु गरिनेछ ।

सूचना अधिकारी खत्रीका अनुसार करिडोरको ट्रयाक र ग्रावेलको काम ६ अर्ब २३ करोड ४९ लाख रुपैंयाँ लागतमा रकममा भइरहेको हो । करिडोरको काम सम्पन्न भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्ला प्रदेश राजधानीसँग छोंटो दुरीमा जोडिनेछन् । पहाडमा उत्पादिन कृषि उपज तराईका बजारसम्म पु¥याउन समेत सहज हुने अपेक्षा गरिएको छ ।