पथरी / सरकारले असारदेखि तीन महिनाका लागि देशभरका खोलाबाट ढुङ्गा, गिट्टी उत्खनन्मा प्रतिबन्ध लगाएको छ । तर मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट अहिले पनि धमाधम ढुङ्गा, गिट्टी निकाल्ने गरिएको छ ।
स्थानीय सरकारले खोला ठेक्का लगाउने तयारी गरिरहेको बेला चिसाङ पुलको उत्तर र दक्षिणीक्षेत्रबाट बिहान र दिउँसो ढुङ्गा–गिट्टी ट्याक्टरमा निकाल्ने र रात परेपछि गाउँमा लगेर बेच्ने गरिएको छ ।
सरकारले नै उत्खनन् बन्द गरेका बेला ढुङ्गा–गिट्टी तस्करी गर्नेलाई प्रहरीले रोक्नु पर्ने हो तर बिहान, दिउँसो र रातिसमेत ढुङ्गा र गिट्टी तस्करी भैरहँदा अस्थायी प्रहरी चौकीका सइ शेखर श्रेष्ठ र हवल्दार नरेश यादव उल्टै तस्करहरूकै स्कर्टिङ गरिरहेका भेटिन्छन् । तस्करहरूले बिहान, दिउँसो ढुङ्गा र गिट्टी निकालेर जङ्गलको झाडीमा राख्ने र रात परेपछि मागअनुसार गाउँ–गाउँ पु¥याउने गरेको स्थानीयले बताए । सइ श्रेष्ठले तस्करहरूसँग मोटो रकम लिएर ढुङ्गा र गिट्टी निकाल्न दिँदै आएको स्थानीयको आरोप छ ।
असइ भएर कानेपोखरी अस्थायी प्रहरी चौकीमा आएका श्रेष्ठ केही महिनाअघि सइमा बढुवा भएका थिए । सइ श्रेष्ठले प्रहरीलाई पैसा दिने ट्याक्टरहरूलाई पक्राउ नगर्ने र पैसा नदिनेलाई पक्राउ गरी कारबाही गर्ने गरेको एक ट्याक्टर चालकले बताए । असइबाट सइ भएका श्रेष्ठको दुई महिनाअघि नै कानेपोखरीबाट सरुवा भइसकेको छ । तस्करहरूले चिसाङ खोलाको पुलदेखि उत्तर ३ सय मिटर खोलाछेउको झाडीमा निकालेर राखेको ढुङ्गा र गिट्टीको थुप्रो छ ।
सरकारले खोलाबाट निकासी रोक लगाएको बेला जङ्गलभित्र झाडीमा ढुङ्गा, बालुवा र गिट्टी लगभग ३ सय टिपरभन्दा बढी राखेका छन् । यस विषयमा सइ शेखर श्रेष्ठलाई सोध्दा उनले आफूले ट्याक्टरहरूसँग कुनै पैसा नलिएको दाबी गरे । उनले भने, ‘तपाईंलाई कसले भनेको हो, त्यो व्यक्तिलाई भेटाइदिनुस् न ।’
यता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी अधिकारीले प्रहरीमाथि लागेको आरोपबारे तत्काल छानबिन गर्ने बताए ।
































