धरान । ब्लाष्ट दैनिकको रजत महोत्सवको साताव्यापी कार्यक्रम शुरु भएको छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार प्रदेश १ का विभिन्न स्थानमा रक्तदान कार्यक्रम शुरु भएको छ । यसक्रममा धरानमा सम्पन्न रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाण पत्रसमेत वितरण गरिएको पूर्व क्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्कीले जानकारी दिए ।

brt3

मौसम प्रतिकूलका कारण पनि रक्तदान कार्यक्रममा सहभागीको संख्या कम भएको उनले जानकारी दिए । धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीको प्रमुख उपस्थितिमा धरानको भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा भएको कार्यक्रममा बराह ग्रुपका प्रदेश संयोजक मानबहादुर दियाली विकलगायतको सहभागिता रहेको थियो । प्रदेश १ को इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोडमा रक्तदान कार्यक्रम भइरहेको हो ।

कविता छनौट शुरु

शुक्रबार नै कविता प्रतियोगिताको छनौट चरण जारी रहेको छ । कथाकार शरणकुमार राई, प्रा.डा. भीम खतिवडा र कवि टीका आत्रेय निर्णायक रहेका छन् । निर्णायकहरूले छनौट गरेको कवितामध्ये टप १० मध्येबाट उत्कृष्ट तीन कवितालाई पुरस्कृत गरिने छ । प्रतियोगिताका लागि प्रदेश १ का विभिन्न स्थानबाट ४३ वटा कविता प्राप्त भएको थियो ।

उक्त कविताहरूलाई कोडीकरण गर्दै निर्णायकहरूलाई प्रदान गरिएको कविता प्रतियोगिताका संयोजक तथा ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले जानकारी दिए । जसमा कविता पठाउनेको नाम, ठेगाना, उमेरलगायतलाई कोडीकरण गरिएको छ ।