धरान/ धरानका ज्येष्ठ नागरिक हरिबहादुर विष्ट उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्दा उल्टो सास्ती खप्नुपरेको छ । ‘उपचार गराउन जाँदा हामीजस्ता ज्येष्ठ नागरिक टिकट काट्न लामो लाइनमा घण्टौं उभिनु पर्छ । त्यसपछि डाक्टरले जाँच्ने ठाउँदेखि ल्यावसम्म उभिनुपर्छ’ उनले दुःखेसो पोखे, ‘हाम्रा उमेरका मान्छेका दाँत फुक्लिन्छन् । उपचार गर्न जाँदा लक्जरी आइटम भनेर महँगो पैसा लिन्छन् ।’

इलाका प्रहरी कार्यालय धरानले आइतबार धरानका ज्येष्ठ नागरिक र विभिन्न क्षेत्रका सरोकारवालाहरू निम्त्याएर ‘ज्येष्ठ नागरिकको सुरक्षा तथा उनीहरू विरुद्ध हुने अपराध नियन्त्रणमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो । सो कार्यक्रममा विष्ट जस्तै धेरै ज्येष्ठ नागरिकले आफूले भोगिरहेका समस्या सुनाए । विष्टले फेरि थपे, ‘सरकारले यातायातमा ५० प्रतिशत छुट दिने भनेको छ तर यहाँका गाडीमा छुट पाइँदैन । ज्येष्ठ नागरिकको परिचय–पत्र देखाउँदा पनि मान्दैनन् ।’

अर्का ज्येष्ठ नागरिक कमल पोख्रेलले छोराछोरी विदेशमा हुने ज्येष्ठ आमाबाबुले बढी समस्या भोगिरहेको बताए । उनले भने, ‘छोराछोरी विदेशमा हुन्छन्, यहाँ बाबुआमालाई औषधि खुवाउने मान्छे पनि हुँदैनन् ।’

धरान–१ का ८४ वर्षीय विश्वनाथ बास्तोलाले ज्येष्ठ नागरिकहरूले विभिन्न प्रकारका औषधि खाइरहनु पर्ने अवस्था रहे पनि औषधि पसलेहरूले दिनुपर्ने छुटसमेत नदिएको गुनासो गरे ।

धेरैजसो ज्येष्ठ नागरिकले बीपी प्रतिष्ठानमा उपचारका लागि जाँदा पाएको सास्ती, धरान उपमहानगरपालिकादेखि मालपोत कार्यालयसम्म लाइनमा उभिँदा हुने समस्या र यातायातमा छुट माग्दा उल्टो दुव्र्यवहार हुने गरेको सुनाए । बीपी प्रतिष्ठानमा छुटसमेत नपाएको गुनासो गरे ।

कार्यक्रममा सहभागी यातायात व्यवसायी हरि थापाले ज्येष्ठ नागरिकहरूलाई ५० प्रतिशत छुट दिने विषयमा सरकारले यातायात व्यवसायीसँग कुनै सम्झौता नगरेकाले छुट दिन नसक्ने बताए । सरकारले व्यवसायीलाई पनि छुट दिएर परिपत्र पठाए मात्र ज्येष्ठ नागरिकलाई छुट दिन तयार रहेको बताए ।

व्यवसायी थापाको कुरा सुनेपछि धरान ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष कुमारबहादुर कार्कीले सरकारले ऐन कानून बनाइसकेपछि व्यवसायीहरूसँग सम्झौता गर्नु नपर्ने र सोही कानूनअनुसार चल्नुपर्ने बताए । उनले भने, ‘देशै सिण्डिकेटले चलेको छ । सरकारले बनाएको ऐन कानून मान्दिनँ भन्नेलाई कारबाही हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन विभागका कर्मचारी प्रकाश श्रेष्ठले प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई सकेसम्म सुविधा दिइरहेको बताए । ज्येष्ठ नागरिकको उपचारमा छुटका लागि सरकारले वार्षिक ५० लाख रुपैयाँ दिए पनि प्रतिष्ठानले ३ करोडभन्दा बढी खर्च गर्ने गरेको बताउँदै उनले भने, ‘सरकारबाट लिनुपर्ने १० करोडभन्दा बढी छ । यसपटकबाट २ करोड बजेट आएको छ ।’

नेकपा धरान नगरकमिटी अध्यक्ष नारायण सुवेदीले ज्येष्ठ नागरिकलाई परिवारभित्रैबाट पनि विभेद भएका धेरै घटना भएको बताए । उनले पार्टीले चुनावका बेला ज्येष्ठ नागरिकका विषयमा बोलेका कुरा पाँच वर्षभित्र पूरा गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोख्रेलले ज्येष्ठ नागरिकको सबैभन्दा ठूलो पीडा घरेलु हिंसा रहेको बताए । उनले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि जिल्लाको एसपी नै फोकल पर्सन रहने गरी व्यवस्था मिलाउने भन्दै ज्येष्ठ नागरिकका कुनै समस्या भए ९८५२०८५५५५ मा सम्पर्क गर्न आग्रह गरे । उनले भने, ‘कोही ज्येष्ठ नागरिकलाई समस्या भए खबर गर्नुस्, प्रहरीले सहयोग गर्छ । पानी खुवाउन, औषधि खुवाउन परे पनि प्रहरी आउँछ ।’

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकका समस्या पहिचान गरी प्रहरीले सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए । ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष कार्कीले केन्द्रले ज्येष्ठ नागरिकका समस्या सम्बन्धित ठाउँमा पु¥याउन पहल गर्ने बताए ।