धरान/ धरान–१२ चतरालाइनको सडक ५० फुटको निर्माण हुने भएको छ । शनिबार वडा कार्यालयको आयोजनामा सम्पन्न छलफलका क्रममा ५० फुटको सडक विस्तार गर्न स्थानीयहरू राजी भएका हुन् ।

छाताचौकदेखि पश्चिम स्वस्तिका चौकसम्म सडक बन्न लागेको वडाध्यक्ष टङ्कबहादुर राईले जानकारी दिए । धरान उपमहानगरले उक्त सडकलाई गौरवको आयोजना अन्तर्गत बाटो पारेपछि सडक निर्माण गर्ने भएको छ ।

स्थानीयले सडक विस्तारका लागि जग्गा छाड्न सहमत भएका छन् । उक्त सडक धरानकै पुरानो सडक हो । नगर विकासका लागि सडक बढ्नु राम्रो कुरा भएको स्थानीय मोहन श्रेष्ठले धारणा राखे । यो सडक उपभोक्ता समितिअन्तर्गत नभई ठेकेदारमार्फत् निर्माण गरिने धरान उमपहानगरका योजना महाशाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठले बताए ।

सडक निर्माणको लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सडकको लागत इष्टिमेट हालसम्म नआएको इञ्जिनियर श्रेष्ठले बताए । उनले चाँडै सडक निर्माण थालिने बताए । स्थानीय प्रा.डा. भोला पोखरेलले पहिल्यै बन्नुपर्ने सडक हालै विस्तार हुन लागेको प्रति खुशी व्यक्त गरे । ‘यो सडक पहिल्यै बन्नुपथ्र्यो, बल्ल अहिले आएर बन्न लागेको छ’ उनले भने । प्राध्यापक हरिबहादुर विष्टले सडक कसरी निर्माण हुने हो भन्ने विषयमा सबै स्थानीयलाई जानकारी गराउनुपर्ने बताए ।

सडक अनुगमन तथा सहजीकरणका लागि हीरा रिजाल, भोला बराल, मोहन श्रेष्ठ, नेत्रकुमारी राई, मेहरमान ह्युज र रामकुमार राईको एउटा समिति बनेको छ । यो समिति शिव सिनेमा हलदेखि स्वस्तिमा चोकसम्मका लागि हो भने छाताचौकदेखि शिवसिनेमा हलसम्मको भेला गरी छनौट समितिलाई पूर्णता दिने वडासचिव खगेन्द्र रोइलाले जानकारी दिए ।