भण्टाबारी/ बिहानैदेखि लाग्ने चर्काे घामले सर्वसाधारण घरबाहिर निस्केका छैनन् । अत्यधिक गर्मीका कारण दैनिकी कष्टकर बनेको छ । बजारमा मानिसको चहलपहल घटेको छ । मजदुरवर्ग जीविका चलाउन अत्यधिक गर्मीका बाबजुद काम गर्ने गरेका छन् भने धेरैजसो सर्वसाधारण जरुरी काम बाहेक घरमै बस्ने गरेका छन् ।

तर, बिना जानकारी जुनसुकै समयमा नेपाल विद्युत् प्राधिकरणले दैनिक लाइन काट्ने गरेको हुँदा सर्वसाधारण हैरान बनेका छन् । विद्युत् प्राधिकरणले अनावश्यक रूपमा पटकपटक लाइन काट्ने गरेपछि सर्वसाधारण आक्रोशित बन्ने गरेका छन् । नियमित रूपमा विद्युत् आपूर्ति भए पनि लो भोल्टेजका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

बिना कुनै जानकारी लाइन काट्ने र विद्युत् आपूर्ति हुँदासमेत लो भोल्टेजका कारण विद्युत्सँग सम्बन्धित काम गर्नेहरू बढी मारमा परेका छन् । नियमित रूपमा काम गर्न नपाउँदा रोजिरोटी गुम्ने अवस्था भएको उनीहरू बताउँछन् । लाइन नभएको कारण दिनहुुँ हैरानी खेप्नुपरेको भण्टाबारीका स्थानीय सरोज साहले बताए । भण्टाबारी चौकमा मोबाइल पसल सञ्चालन गर्दै आएका साहले भने एक महिनायता कतिबेला लाइन आउँछ, कतिबेला जान्छ कुनै पत्तो हुँदैन । जतिबेला पनि झ्याप्प झ्याप्प आउने जाने गरिन्छ उनले भने लाइन आए पनि भोल्टेज नै हुँदैन ।

विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाको लापरबाहीका कारण गर्मी मौसममा उपभोक्ताहरू लो भोल्टेज र अनियमित रूपमा विद्युत् कटौती हुने समस्याले हैरान बनेको स्थानीय सन्तोष गुप्ताले गुनासो गरे । उनले भने गर्मीका बेला दिनमा मात्रै होइन रातभर पनि विद्युत् आउने र जाने समस्याले भण्टाबारी, हरिपुर,लौकही क्षेत्रका उपभोक्ताहरु हैरान छन् ।

अनियमित रूपमा विद्युत् कटौती र लो भोल्टेजका कारण समस्या देखिएको छ । राति १२, १ बजे लाइन काट्दा घण्टौंसम्म नआउने गरेको हुँदा सर्वसाधारण आक्रोशित हुनु स्वाभाविकै भएको गुप्ताले बताए । उनी भन्छन् ‘गर्मी बढ्दै गएको बेला लाइन आउने जाने र आपूर्ति भए पनि लो भोल्टेज समस्याले सर्वसाधारण आक्रोशित हुने गर्छन् ।’ विद्युत् बढी आवश्यक पर्ने दिउँसो र साँझको समयमा पङ्खा चल्नेसम्मको समेत भोल्टेज नहुँदा गर्मी मौसममा समस्या भएको हो ।

विद्युत् प्राधिकरणलाई नियमित शुल्क बुझाउँदै आए पनि आफूहरूले सोहीअनुसारको सेवा पाउन नसकेको स्थानीय महम्मद सुभान मियाले गुनासो गरे । उनी गुनासो गर्दै भन्छन् उपभोक्ताले केको लागि विद्युत् प्राधिकरणलाई शुल्क तिरेको ? त्यसैअनुरूप सेवा दिने व्यवस्था गर्नुपर्छ कि पर्दैन ? लाइन दिए पनि भोल्टेज आउँदैन । केही समय अगाडि भण्टाबारीमा ट्रान्सर्फमर बिग्रेको बताउँदै मियाले आवश्यक क्षमताअनुसार ट्रान्सर्फमर नलगाएको हुँदा लो भोल्टेजको समस्या देखिएको बताए ।

दिनरात जुनसुकै समयमा लाइन काट्ने गरेको हुँदा आवश्यक परेको बेला लाइन नहुने गरेको उनले गुनासो गरे । जिल्लाको विभिन्न क्षेत्रमा व्यवस्थित विद्युतीकरण भएको छैन । रुखहरूलाई छिचोल्दै विद्युत्का तार तानिएको छ भने वर्षौंदेखिको पुराना अव्यवस्थित रूपमा राखिएका विद्युत् पोल व्यवस्थापनमा प्राधिकरण उदासीन छ । जसले गर्दा सामान्य हावहुरी र वर्षा हुँदा विभिन्न क्षेत्रको विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।

यता नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले विनाकारण विद्युत् कटौती नगरिएको जनाएको छ । इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीव साहले विना कारण विद्युत् कटौती नगरिएको दाबी गरेका छन् । बेलाबेलामा विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुँदा मर्मतका लागि मात्र विद्युत कटौती गर्ने गरिएको उनले बताए ।

अत्यधिक खपतका कारण भोल्टेजको समस्या हुनसक्ने उनले बताए । नयाँ ट्रान्सर्फमर अपग्रेडिङ गर्ने काम भइरहेको हुँदा दुई चारदिनमा लो भोल्टेजको समस्या समाधान हुने साहले बताए । इनरुवाको शव स्टेसनमा रहेको ३३ र ११ केभी पावर ट्रान्सर्फमर अपग्रेडिङ गर्ने कार्य हुँदा भदौ १३ गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि ११ केभी लौकही तथा झुम्का फिडरहरूको लाइन अवरुद्ध भएको थियो ।