विराटनगर/ उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ४ सय ८२ वटा मुद्दा फछ्र्यौट गरेको छ । जुन अदालतले अनुमान गरेको भन्दा १ हजार १ सय ८३ वटा मुद्दा बढी हो ।
आर्थिक वर्ष ४ हजार ४ सय २४ वटा मुद्दा दर्ता भएकोमा २ हजार ४ सय ८२ वटा मुद्दा फछ्र्यौट भएको छ भने १ हजार ९ सय ४२ वटा मुद्दा बाँकी रहेको उच्च अदालत विराटनगरले जानकारी दिएको छ ।
अदालतले बिहीबार आयोजना गरेको कार्यक्रममा उच्च अदालत विराटनगरका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार आर्थिक वर्षमा सबैभन्दा बढी ९ महिनाभित्रका मुद्दा सबैभन्दा बढी फछ्र्यौट भएको जानकारी दिए । उनका अनुसार ९ महिनाभित्रका १ हजार ४ सय ३ वटा मुद्दा फछ्र्यौट भएका छन् । त्यस्तै ९ महिनादेखि १ वर्षभित्रका ३ सय ५५ थान, १ वर्षदेखि १८ महिनासम्मका १ हजार १० थान, १८ देखि २ वर्षभित्रका ५३ थान र २ वर्ष नाघेका २१ थान मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ ।
सार्वजनिक गरेको अभिलेखअनुसार अदालतले अुनामन गरेको भन्दा बढी मुद्दा फछ्र्यौट भए पनि गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा प्रतिशतको आधारमा भने कम मुद्दा फछ्र्यौट भएको देखिएको छ । उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश विनोद शर्माले गतवर्ष बढी मुद्दा दर्ता भएको कारणले गर्दा पछ्र्यौट प्रतिशतमा कम देखिएको बताए । ‘अदालतले अनुमान गरेको भन्दा मुद्दा फछ्र्यौटको सङ्ख्यामा बढी छ’ उनले भने, ‘प्रतिशतमा भने कमी हो ।’
गत आर्थिक वर्ष २०७४/०७५ मा ७१.४७ प्रतिशत मुद्दा फछ्र्यौट भएको थियो । जुन अघिल्लो आर्थिक वर्षभन्दा प्रतिशतको आधारमा आर्थिक वर्षमा १५.३७ प्रतिशतले कमी हो । आर्थिक वर्षमा ५६.१० प्रतिशत मात्र मुद्दा फ्छर्यौट भएको छ । अघिल्लो आर्थिक वर्षमा ३ हजार ३ सय ५२ वटा मुद्दा दर्ता भएकोमा २ हजार ३ सय ९६ वटा मुद्दा फछ्र्यौट भएको अदालतको अभिलेखमा देखिन्छ ।
कार्यक्रममा बोल्दै उच्च अदालतका कामु मुख्य न्यायाधीश शर्माले रणनीतिक योजना र लक्ष्य निर्धारण गरेर अदालतले न्याय सम्पादन गरेको जानकारी दिए । उच्च अदालत विराटनगरमा नयाँ आएका न्यायाधीश शर्माले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन गरेर अगाडि बढ्ने बताए । उनले अदालतले गरेको फैसलालाई प्रभावकारी कार्यान्वयन गराउनु पर्नेमा जोड दिए । उनले अदालतबाट प्रवाह हुने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण गर्दै अगाडि बढ्ने बताए ।
उच्च अदालत विराटनगरमा सरूवा भएर ९ जना नयाँ न्यायाधीश आएका छन् । जसमा प्रेमराज कार्की, प्रेमराज ढकाल, हरिप्रसाद बगाले, लेखनाथ घिमिरे, महेश शर्मा पौडेल, शेखरप्रसाद पौडेल, यमुना भट्टराई, तेजनारायण सिंह राई, महम्मद जुनैद आजाद र रेणुका शाह छिन् ।
































