इटहरी/ इटहरीमा रात्रिकालीन बजारलगाउन गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

सम्साँझै बजार बन्द हुँदा बाहिरबाट आएका आगन्तुक तथा पर्यटकले सामग्री खरिद गर्नमा समस्या रहेको थियो । रात्रिकालीन बजारले आगन्तुक तथा पर्यटकहरूलाई सहज बनाउने विश्वास लिइएको छ । इटहरी चोक आसपासका बजार साँझ नहुँदै बन्द हुने गरेको गुनासो बढेका आधारमा इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजार शुरु गर्न लागेको हो ।

इटहरी नगरसभाले नमूना रात्रीबजारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यहीअनुरूप अहिले बजार लगाउन इटहरीको आइतबारेमा धमाधम काम भइरहेको रात्रिकालीन बजार निर्माण समितिका संयोजक कृष्ण भट्टराईले बताए । भट्टराईले भने, ‘इटहरी बजारमा केही समयभित्रै रात्रिकालीन बजार शुरु हुँदैछ ।’

रात्रीकालीन बजार लगाउन अहिले आइतबारेमा निःशुल्क वाइफाइ जोड्ने, रुखहरूमा रङ्गरोगन गरी आकर्षक बनाउने कार्य भइरहेको तथा सार्वजनिक शौचालय र प्रहरी बिटको निर्माण कार्य यथाशक्य चाँडो शुरु गरिने तयारी समितिका संयोजक भट्टराई बताउँछन् । इटहरी क्षेत्रमा कार्यान्वयन गर्न सके यहाँको अर्थतन्त्रलाई थप चलायमान बनाउदै आन्तरिक पर्यटनको समेत प्रवद्र्धन हुने होटल व्यवसायी अनुरोध थापाले बताए ।

इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजार इटहरीको बढ्दो शहरीकरण र जनघनत्वले रात्रीबजारको माग गरेको उपमहानगरले रात्रीकालीनबजार लगाउने तयारी तीव्र रूपमा थालेको भट्टराई बताउँछन् । इटहरीको आइतबारेदेखि नेपाल टेलिकमसम्म रात्रीबजार लगाउने निर्णय भएको थियो ।

प्रदेश नम्बर १ को चौरस्ता इटहरी भौगोलिक हिसाबले नेपालकै उदयिमान बजार हो । इटहरी देशको सङ्घीय राजधानी काठमाडांै, प्रदेशको राजधानी विराटनगर, पूर्वपश्चिम लोकमार्ग र बहुप्रतिक्षित भारत र चीन जोड्ने रानी किमाथाङ्का नाकाको चौरस्तामा पर्ने भएकाले व्यापारिक हिसाबले यसको महŒव थप बढेको कारण रात्रिकालीन बजार आवश्यक रहेको भट्टराई बताउँछन् ।

दिनभर आफ्नो निजी काममा व्यस्त रहनुपर्ने भएकाले प्राय इटहरीबासी किनमेलका लागि बिहानको समय वा बिदाकै दिन कुर्नुपर्ने बाध्यतामा छन् । यदि रात्रीकालीन बजार व्यवस्थित तरिकाले लगाउन सकिए उपभोग्य सामान, होटल तथा चमेना गृह र पारिवारिक मनोरञ्जनका अन्य व्यवसाय सञ्चालन हुने युवा व्यवसायी विक्रम घिमिरेले बताए ।

इटहरीमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम रात्रीकालीन बजार व्यवस्थापन गर्न उद्योग वाणिज्य सङ्घ इटहरी स्थानीय निकायसँग साझेदारी गर्न तयार रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले बताए । आइतबारे लाइनमा सौर्य बत्ती, सिसिटिभी क्यामेरा जडान, सार्वजनिक शौचालय र प्रहरी बिटसमेत निर्माण गर्ने तयारी थालिएको छ । बजारमा अत्यावश्यक सामानहरूसहित मनोरञ्जन, खानेकुराको पसल सञ्चालन गरिने योजना रहेको छ ।

‘उपभोक्ता हितको हिसाबले पनि रात्रीकालीन बजार लगाउनु सकारात्मक हो तर ‘हचुवाको भरमा बजार व्यवस्थापन हुन गाह्रो छ’ एक स्थानीयले भने, ‘त्यसैले इटहरीमा लाग्न लागेको रात्रिबजारलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउनुपर्छ ।’