धरान/ सुनसरीको इनरुवास्थित नापी कार्यालयले कतै रोक्का नभएको आफ्नो जग्गा बिक्री गर्न नदिएको आरोप एक जग्गाधनीले लगाएका छन् ।

जग्गाधनी केदारबहादुर कार्कीले इटहरी उपमहानगरपालिका–१ साविक हाँसपोसा –१ आँपगाछीस्थित क्याम्पसलाइनको जग्गा नापी कार्यालयले बिक्री गर्न नदिएर मौलिक अधिकार हनन् गरेको आरोप लगाए ।

उनले भने, ‘मेरो स्वामित्वमा रहेको १२ कठ्ठा १९ धुर जग्गामध्ये सवा ८ धुर जग्गा बिक्री गर्न खोज्दा सोमबार दिनभर पर्खाएर जग्गामा गडबड छ, अहिले बिक्री हुँदैन भनेर फर्काए । किन मलाई त्यसो भने थाहा छैन ।’ उनका अनुसार उक्त जग्गाको कित्ता नम्बर ३९६ बाट कित्ताकाट गरेर छोरा केशव कार्कीलाई १ कठ्ठा १० धुर र जेठी छोरी सृजनालाई १ कठ्ठा दिएका थिए ।

तर नापी कार्यालयले नक्सा बनाउँदा १ कठ्ठा १० धुरको ठाउँमा १ कठ्ठा ११ धुर र छोरीकोमा १ कठ्ठाको ठाउँमा साढे २२ धुर नापी दिएका थिए । तर छोराछोरीको धनीपुर्जा र श्रेस्तामा भने छोराकोमा १ कठ्ठा १० धुर र जेठी छोरी सृजनालाई १ कठ्ठा नै उल्लेख छ ।

धरानका एक व्यक्तिले आफ्नो जग्गा किन्न मागेपछि सवा ८ धुर जग्गाको बैनाबट्टा गरिसकेर सोमबार उनी जग्गा पासका लागि इनरुवा पुगेका थिए तर नापीले फिल्डमा भएको जग्गा र धनीपुर्जामा उल्लेख भएको जग्गा फरक देखिएकाले उक्त जग्गा तत्कालका लागि बिक्री हुन नसक्ने भनेर फर्काएको कार्कीले बताए ।

उनले भने, ‘त्यसो भए नापी नक्सा र श्रेस्ता मैले बिगारेको हो र मलाई झमेला दिने ? मैले दिएको भन्दा बढी जग्गा नापीका प्रविधिकले नापेर दिए । बाँकी रहेको जग्गामध्ये केही धुर बिक्री गर्न खोज्दा जग्गा नै बिक्री नहुने अवस्थामा पुगेको भनेर पन्छिन पाइन्छ ?’

उनले भने, ‘आइतबारका दिन धरानमा एकजनालाई मैले सवा ८ धुर जग्गा बिक्री गरेर इनरुवामा पास गर्न पुग्दा नापीका कर्मचारीहरूले नक्सा बनाउन नसक्ने बताउँदा आश्चर्यमा परेको छु ।’ उनले भएको जग्गाको नापनक्सा बिगार्ने र बिगारेपछि मिलाइदिने भनेर घूस खाने सेटिङ गर्न खोजेको आरोपसमेत लगाए ।

श्रेस्ता र नक्सा नापीले बिगारेकाले उनीहरूले नै सच्याउनु पर्नेमा आफूलाई झमेला दिएको बताए । उनले आफ्नो जग्गा बिक्री गर्न नदिए अदालत जाने र घूसको नाममा एकपैसा नदिने बताए । कार्कीको जग्गा बिक्री गर्न नदिएको बारेमा इनरुवास्थित नापी कार्यालयका प्रमुख सञ्जीवकुमार साहले कार्कीको जग्गा बिक्री गर्नबाट कसैले नरोकेको बताए ।

उनले भने, ‘कार्कीको जग्गा फिल्डमा करिब २ कठ्ठा नै अपुग देखिएकाले नापी नक्सा सच्याएर मात्र बिक्री गर्न फाँटवाला कर्मचारीले भनेको हो । उनले के बुझेर मिडियामा पुगे थाहा छैन ।’ कार्यालय प्रमुख साहका अनुसार कार्कीले आफ्नो छोरा र छोरीलाई कित्ताकाट गरेर जग्गा दिँदा बढी दिएकाले यस्तो समस्या आएको हो । उनले श्रेस्तामा उल्लेख भएको र फिल्डमा भएको जग्गामा तालमेल नभए भविष्यमा फेरि झमेला व्यहोर्नु पर्ने भएकाले सच्याएर बिक्री गर्न भनेको बताए ।