विराटनगर/ अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक परेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा सोमबार आयोजना गरेको समुदाय प्रहरी जिल्ला समितिको मासिक समिक्षात्मक बैठकमा सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीले समुदाय साझेदारी कार्यक्रमको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै समाजमा अपराध नियन्त्रण गर्न सामुदायमा प्रहरी कार्यक्रमको भूमिका अपिरिहार्य रहेको बताए ।
समुदाय प्रहरी जिल्ला समितिका संयोजक तथा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सीले अपराधलाई नियन्त्रण गर्नको लागि प्रहरीलाई समुदायको साथ आवश्यक रहेको बताए । उनले समुदाय र प्रहरीबीचको साझेदारी अपरिहार्य हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले लागूऔषध तथा बाल विवाह लगायतका अन्य आपराधिक गतिविधिको नियन्त्रणको लागि प्रहरी र समुदायबीचको साझेदारीले सार्थकता पाउनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले समाजलाई अपराधमुक्त बनाउन समुदायसँगको साझेदारीको साथसाथै प्रविधिमा जोड दिनुपर्ने बताए ।
प्रविधिलाई अपनाएर अपराध नियन्त्रण गरिनुपर्ने उनको भनाइ थियो । मोरङ प्रहरीका प्रमुख तथा समुदाय प्रहरी जिल्ला समितिका सहसंयोजक एसपी विश्व अधिकारीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको त्रैमासिक कार्य योजना तथा श्रावण महिनाको जिल्लाको आपराधिक गतिविधिबारे जानकारी गराएका थिए ।
































