इटहरी/ पछिल्ला वर्षहरूमा विशेषतः शहरिया नेपालीले पार्टी प्यालेसमा भोज दिनु सामान्य भइसकेको छ । शहरी क्षेत्रमा साँघुरो ठाउँ एवम् व्यस्तताका कारण सबै सेवाग्राहीहरू पार्टी प्यालेसमै भर पर्नु स्वभाविक नै पनि देखिन्छ । तर, इटहरीमा मात्र होइन, नेपालका विभिन्न शहरहरूमा घरमा भोज खुवाउने चलन हराएर पार्टी प्यालेसमा भोजभतेर गर्ने जीवनशैली नै बनिसकेको छ ।

थोरै जग्गामा बनेको घरमा सामान्य पूजापाठमा समेत समस्या हुने भएको कारण घरमा हुने कार्जेहरू पार्टी प्यालेसमा गर्ने बाध्यतासमेत हुन थालेको सर्वसाधारण बताउँछन् । सामान्य पाठपूजा गर्दासमेत आफ्नो घरको बाटो छेक्नुको विकल्न नरहेको बताउँछन् इटहरी–१९ तरहराका जगदीश बस्नेत । उनी भन्छन्, ‘फेसनसँगै पार्टी प्यालेस बाध्यता हुँदै गएको छ ।’

प्लटिङ गरेको टुक्रा जग्गामा बस्नेदेखि धेरै जग्गा हुनेहरूसमेत पार्टी प्यालेसमा घरायसी कार्यक्रम गर्नेको सङ्ख्या बढेको छ । पल्लो घरकाले ठूलो प्यालेसमा गरे भन्दै देखासिकीमा समेत कार्यक्रमहरू हुन थालेको बताउँछन्, इटहरीमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएका केशव कार्की । उनी भन्छन्, ‘घरअगाडि ठाउँ नहुँदा त्यहाँसम्म पुग्नै पर्ने बाध्यता छ ।’ अहिले अधिकांश ठूला कार्यक्रमहरू पार्टी प्यालेसमा हुन थाल्दा ठूला पार्टी प्यालेस खोल्ने क्रमसमेत बढेको उनले बताए ।

सहजताका कारण पार्टी प्यालेसमा आउने क्रम बढेको बताउँछन् इटहरी ब्याङ्क्वेटका सञ्चालक तथा पर्यटनकर्मी सुनिल भुषाल । अझै पनि गाउँतिर आफ्नै घरअगाडि अलि–अलि कार्यक्रम हुन्छ तर आँगन अभावले मात्र नभई देखासिकीका लागि पनि पार्टी प्यालेसमै कार्यक्रम हुने गरेको उनको भनाइ छ । धेरैजसो विवाह पार्टी प्यालेस तथा ब्याङ्क्वेटहरूबाटै हुने गरेको उनी बताउँछन् ।

पछिल्लो समय विवाह, ब्रतबन्ध, भोजभतेर, सेमिनार, गोष्ठी र अन्य कार्यक्रमको लागि पनि पार्टी प्यालेसमा सहज हुने भएकोले सबैले पार्टी प्यालेस नै रोज्ने गरेको बताउँछन् इटहरीस्थित दुर्गा पार्टी प्यालेस र लायन्स पार्टी प्यालेसका सञ्चालक राजकुमार कार्की । कार्की भन्छन्, ‘अहिले प्रायः शहरी क्षेत्रमा बाक्लो बस्तीका कारण घरअगाडि असहज हुनाले सबै पार्टी प्यालेसमै आउँछन् ।’

विवाहको समयमा बढी प्याक हुने र अफ सिजनमा सेमीनार, ब्रतबन्धलगायतका कार्यक्रम गर्दै आएको उनले बताए । ‘हामी सिजनमा काम गर्न भ्याई नभ्याई हुन्छौं’ उनी थप्छन्, ‘धेरैलाई घरमै कार्जे गर्ने मन हुँदाहुँदै पनि यहाँसम्म आउनु ठाउँ अभावकै कारण हो जस्तो लाग्छ ।’ इटहरीमा साना–ठूला गरी करिब १ दर्जन पार्टी प्यालेस सञ्चालनमा छन् ।