बिर्तामोड/ बिर्तामोडको मुक्ति चोक नजिकैको अर्बाैं मूल्यको जमिन हडप्ने एक समूहको योजना विफल भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय झापामा जग्गा ‘नामसारी तथा बाँडफाँड’ गर्नका लागि मुद्दा हाल्ने समूहको विपक्षमा फैसला भएपछि जमिन हडप्ने योजना विफल भएको हो ।
कृषि सामग्री कम्पनीको स्वामित्वमा रहेको तत्कालीन अनारमनी–३ को कित्ता नम्बर १४९, १५० र १५१ मा दर्ता कायम रहेको ४ बिगाहा १० कठ्ठा जमिनमा मोही रहेको भन्दै झापाको मेचीनगर, बिर्तामोड र कन्काई नगरपालिका घर भएका तीन परिवारले नामसारी तथा बाँडफाँडका लागि मुद्दा दर्ता गरेका थिए । सो जमिनको हालसाविक गर्दा १३९ कित्ता नम्बर हुँदै २ बिगाहा कायम भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ ।
झापाको मेचीनगर नगरपालिका–१२ का अष्टम धिमाल र बिष्टम धिमालले २०२१ सालमा बैशाखु माझीको स्वामित्वमा जमिन रहेको समयमा आफ्ना बाबु चेकलाल धिमालको नाममा कित्ता नम्बर १४९ मा पर्ने जग्गामध्ये १५ कठ्ठा जमिनमा मोही कायम रहेको भन्दै जग्गा बाँडफाँडका लागि मुद्दा हालेका थिए । त्यस्तै सोही समयमा साविक कित्ता नम्बर १५० को १५ कठ्ठा जमिन बैशाखु माझीको नाममा दर्ता रहेको देखिन्छ । कन्काई नगरपालिका–२ का साहुनी र सन्तलाल माझीका छोरा भानुभक्त माझीले आफ्ना बाबुको नाममा मोही कायम रहेको भन्दै जग्गा नामसारी तथा मोही बाँडफाँड गर्न मुद्दा दर्ता गरेका थिए ।
त्यसैगरी सोही स्थानको कित्ता नम्बर १५१ को ३ बिगाहा जमिन अकालु धिमालको नाममा दर्ता भएको थियो । बिर्तामोड नगरपालिका–४ की वेल्सी धिमालले आफ्ना पति लेमलाल धिमालको नाममा मोही भएको भन्दै जमिनको नामसारी तथा बाँडफाँडका लागि मुद्दा दर्ता गरेकी थिइन् । २०७५ पुषमा दर्ता भएको मुद्दाको ‘वादीको दाबी बमोजिम सरकारी जमिन नामसारी तथा बाँडफाँड गर्नु नपर्ने’ गरी फैसला गरेको भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख जनार्दन भट्टराईले जानकारी दिए । नेपाल सरकारको स्वामित्वको कृषि सामग्री कम्पनीको पक्षमा फैसला भएको भट्टराईले जानकारी दिए ।
भूमिसुधार ऐन २०२१ को दफा २५ को उपदफा ५ को ‘ग’ मा नेपाल सरकारको स्वामित्वमा भएको जमिनमा व्यक्तिको मोही कायम नहुने उल्लेख छ । मोही कायम गर्न मुद्दा गर्दै गरेकामध्येका वेल्सी धिमालका वारेस कुमार लिम्बूले भने सरकारले मोही भएको जमिन खरिद गरेको मुद्दा इजलासमा पेश गरेका थिए ।
गङ्गादेवी प्रसाईं हुँदै तत्कालीन जुट विकासको नाममा जमिन नामसारी भएको श्रेस्तामा देखिन्छ । जुट विकास संस्था खारेज भएपछि २०६१ असोज २२ गते कृषि सामग्री कम्पनीको स्वामित्वमा सो जमिन आएको हो । नापी कार्यालयले हालसाविक गर्दा कित्ता नम्बर १३९ मा सो जमिन कायम गरेको छ । जुट बिकासको नामबाट कृषि सामग्री कम्पनिको नाममा पास गर्ने बेलामा मोही नरहेकोे जमिन पछि कसरी मोही देखियो भन्ने चासोको बिषय बनेको छ ।
यसैगरी खाद्य संस्थानको नाममा दर्ता कायम रहेको अनारमनी गाविस वडा नम्बर ३ को कित्ता नम्बर ३४४ को ३ बिगाहा ७ कठ्ठा जमिनसमेत व्यक्तिको नाममा पार्ने प्रयास गरेको पाइएको छ । ‘जयनारायण ढुङ्गानाको नाममा रहेको कित्ता नम्बर ५०९ र ५१२ बाट सो जमिन खाद्य संस्थानको नाममा गएको श्रेस्तामा देखिन्छ’ भूमिसुधार कार्यालयका नायव सुब्बा पार्थकृष्ण पोखरेलले भने, ‘तर, चेचा धिमालका छोरा अष्टमले मोही कायम गर्न दर्ता गरेको मुद्दामा कित्ता नम्बर १४८ बाट हालसाविक भएर ३४४ नम्बरमा परिणत भएको दाबी गरेका छन्, साविकको कित्ता नम्बर नमिलेको कारण नापी कार्यालयमा नक्सा भिडाउने प्रक्रिया अघि बढाइएको छ ।’ सो जमिनको स्वामित्व नामसारी गर्नुपर्ने धिमालले दायर गरेको मुद्दामा उल्लेख गरिएको पोखरेलले जानकारी दिए । सो जमिनको सर्जमिन गर्ने प्रक्रिया शुरु गरिने पोखरेलले जानकारी दिए ।
































