मधुमल्ला/ शनिबार मोरङको मिक्लाजुङ गाउँपालिकामा पत्रकार शालिकराम पुडासैनीको हत्यारालाई पक्राउ गरी कारबाही र पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै मिक्लाजुङको मधुमल्लामा बजारमा शान्तिपूर्ण ¥याली सम्पन्न भएको छ ।
मिक्लाजुङमा स्वतःस्फूर्तरूपमा निकालिएको ¥यालीमा करिब सात सयबढीको सहभागिता रहेको सहभागी ओमकुमार दाहालले बताए । मिक्लाजुङ–७ मधुमल्ला बजार मेनचोकबाट शुरु भएको ¥यालीले मधुमल्ला बस स्टेण्ड, बैङ्क लाइन हुँदै मावानुनसरी सामुदायिक हुँदै मधुमल्ला मेन चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय वसन्ती सुन्दास, रमेश बराल (क्षितिज) र कवि रुद्र भण्डारी (धुलो)ले सम्बोधन गर्र्दै आफूहरूले सत्यको पक्षमा आवाज उठाएको बताए । वक्ताहरूले रवि लामिछाने निर्दोष भएकोले देशभर आवाज उठिरहेको हुँदा रविलाई रिहा गरी पत्रकार सालिकराम पुडासैनीको हत्यारालाई कारबाही गर्न माग गरेका थिए ।
त्यसैगरी सुनसरीको इनरुवामा पनि सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा ¥याली निकालिएको छ ।
न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई सुनियोजित तवरमा फसाउने प्रयास गरिएको भन्दै युवाहरूको अगुवाइमा दबावमूलक ¥याली निकालिएको हो ।
साङ्केतिक विरोध जनाएका स्थानीयले पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र युवराज कँडेलको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । ¥याली नगरका विभिन्न भागको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।
































