उदयपुर/ जलेको ट्रान्स्फर्मर विद्युत् प्राधिकरणले नफेर्दा उदयपुरमा आधा दर्जन बढी गाउँ अन्धाकार बनेका छन् । त्रियुगा नगरपालका–९ मा चार दिन अगाडि जलेको ट्रान्स्र्फमर नेपाल विद्युत् प्राधिकरणले नफेर्दा आधा दर्जनभन्दा बढी गाउँ अन्धकार बनेका हुन् । चार दिनदेखि विद्युत् अवरुद्ध भएपछि नव उदयटोल, चौकीबारी, पाखाटोल, सखुवनी, मथाने टोल, भगवती टोल लगायतका टोलबा बासिन्दाहरू अन्धाकारमा बस्न वाध्य भएका छन् । विद्युत् अवरुद्ध भएपछि सामुदायिक उदयपुर रेडियोको प्रशारणमा समेत वाधा पुगेको छ ।
उक्त टोलका करिब २ हजार उपभोक्ताहरू अन्धकारमा बस्न बाध्य भएको स्थानीयले जनाएका छन् । विद्युत् अवरुद्ध भएपछि मर्मत गरी दिन पटक–पटक नेपाल विद्युत् प्राधिकरण शाखा गाईघाटमा पुगेर निवेदन नै दिए पनि ट्रान्स्फर्मर व्याकअप नभएकाले तत्काल केही गर्न नसकिने भन्ने गरेको स्थानीय भेषराज राउतले बताए । गर्मी मौसम भएकाले वृद्ध वृद्धा, बालबच्चा र सुत्केरी आमाहरूलाई समस्या भएको राउतले बताए ।
विद्युत् अवरुद्ध भएपछि मोबाईल, लाइट, रेडियो चार्ज गर्न र राती सुत्दा पङ्खा चलाउन नपाएको राउतले बताए । गर्मीयाममा सर्पको बिगबिगी हुने भएकाले राती शौचालय जान समेत समस्या भएको छ । टर्च लाइट चार्ज गर्न नपाएकाले अन्धकारमा अन्दाजले हिंड्नुपर्ने बाध्यताले सर्पबाट जोगिन गाह्रो भएको उनले बताए ।
लामो समयसम्म विद्युत् अवरुद्ध भएपछि स्थानीयबासी र रेडियोमा समस्या आएपछि विद्युत् सञ्चालन गरिदिन माग गर्दै निवेदन दिए पनि ट्रान्स्फर्मर व्याकअप नभएकाले तत्काल केही गर्न नसकिने नेपाल विद्युत् प्राधिकरण शाखा गाईघाटका इञ्जिनियर संजिक कर्णले जनाएको रेडियो उदयपुरका स्टेसन म्यानेजर वन्दना दनुवारले बताइन् ।
विद्युत् अवरुद्ध भए पनि जेनेरेटरबाट रेडियो प्रशारण गरिरहेको भए पनि प्रशारणमा कटौती भएको दनुवारले बताइन् । विद्युत् नहुँदा स्थानियबासीहरूलाई ठूलो सङ्कट आएको उनले बताईन् । रेडियो विहान ५ बजेदेखि राती १० बजेसम्म प्रशारण हँुदै आएको थियो । केही स्टोर गरेर राखेका ट्रान्स्र्फमरहरू अरू ठाउँ पठाइसकेकाले तत्काल फेर्न नसकिएको प्राधिकरणले जनाएको छ । ट्रान्स्फर्मरको माथिको तार समेत जलेको जनाइएको छ । ट्रान्स्फर्मर मगाएको छ । आएपछि तत्काल जडान गरी विद्युत् सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ ।
एसईईको पूरक परीक्षा शुरु हुन भन्दा अगाडिदेखि विद्युत् अवरुद्ध भएकाले पूरक परीक्षा दिने परीक्षार्थीहरूलाई ठूलो समस्या भएको स्थानीयबासीहरूले बताएका छन् । अन्न पिस्ने मिल र खेतमा पानी पटाउनमा समेत समस्या आएको छ । साना बालबालिकाको पठन पनठान समस्या आएको सञ्चारकर्मी डिएन चौधरीले बताए । राती अन्धाकारमा बस्न बाध्य भएका बासिन्दाहरू सूचना र सञ्चारको पहुँचदेखि पनि वञ्चित भएका छन् । कुनै प्रकारका विद्युतीय सामाग्री चार्ज गर्न नपाएको र रेडियो टेलिभिज सुन्न र हेर्नसमेत नभएकाले वञ्चित भएको चौधरीले बताए ।
अन्धकारमा बस्न बाध्य भएका स्थानीयहरूले मिलमा धान, मकै लगायतका खाद्य पिसाउन पाएको छैन भने खेतमा रोपेको धानमा पानी समेत लगाउन नपाएको स्थानीयबासीले जनाएका छन् । दैनिक जस्तो टोल सुधार समिति, गाउँले लगायतका टोलीहरू चाँडो विद्युत् सञ्चालनका लागि अनुरोध गर्न विद्युत् प्राधिकरण जाने गरेको स्थानीय राउतले बताए ।