विराटनगर/ प्रदेश १ का विभिन्न जिल्लाहरूमा शनिबार मात्र डुबेर ४ जनाको मृत्यु भएकोे छ । १ जना घाइते भएकोले उनको उपचार विराटनगरमा भइरहेको छ । डुबेर मृत्यु हुने एक नाबालक, एक बालक र २ जना युवा रहेका छन् । एकै दिन डुबेर मृत्यु हुनेहरूमा २ जना सुनसरी र १–१ जना झापा र मोरङका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका शिव मुखियाको १० वर्षीय छोरा आकाशको खोलामा डुबेर मृत्यु भएको बताए । घरबाट शनिबार बिहान हिँडेका आकाश साँझसम्म पनि घरमा फर्किएर नआएपश्चात् आकाशका परीवारले इलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए । घटनाबारे जानकारी पाएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा रातको ९ बजे रतुवाखोलाको किनारमा आकाशको कपडा देखेपश्चात् प्रहरीले खोलामा खोजी गर्दा उनको डुबेर मृत अवस्थामा शव फेला परेको थियो ।

यसैगरी सोही दिन झापाको बिर्तामोड नगरपालिका–३ विराटपोखर बस्ने रोशन बेसराको २ वर्षीय छोरा अजित बेसरा खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु अवस्थामा फेला परेका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गई आवश्यक अनुसन्धान कार्य पूरा गरेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका- ६ बस्ने ४० वर्षीय मोहन भट्टराईको खेतीखोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समयपश्चात् डुबिरहेको अवस्थामा स्थानीयले भेटेका थिए । यसैगरी सुनसरीको रामधुनी नगरपालिका -६ ईचोल बस्ने अन्दाजी ४५/५० वर्षिका सरिलाल राजधामी घरनजिकैको पोखरीमा डुबेर मृत अवस्थामा फेला परेका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरीको टोली गई आवश्यक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागि बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको कोशी कटान मारामधुनी–५ भुमरीचोकका १८ वर्षीय आयुष बस्नेत नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका थिए । उनलाई साथीहरूले डुबिरहेको अवस्थामा देखे पश्चात तत्काल उद्दार गरी जिल्ला अस्पताल इनरुवा लगेकोमा थप उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उल्लेखित घटना शनिबारको मात्र हो । प्रदेश १ मा पहिरो र विभिन्न खोलामा आएको बाढीले मृत्यु हुनेको सङ्ख्यामा बढेको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र ४२ जनाको बाढी, पहिरो र खोलामा डुबेर मृत्यु भएको छ । भदौ महिनाको पहिलो दिन ४ जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

साउन १ देखि भदौ १ गते साँझसम्म प्रदेश १ मा ४६ जनाको मृत्यु भएको प्रदेश प्रहरीको एसएसपी दाहालले जानकारी दिए । उनका अनुसार ९ जना बेपत्ता र २ जना घाइते भएको जानकारी दिएका छन् ।