भद्रपुर । दक्षिणी झापाको कचनकवल नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको लत्ताकपडा प्रहरीले भद्रपुरबाट बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले भद्रपुर नगरपालिका –१० लेखनाथ चोकबाट अन्दाजी तीन लाख बराबरको लत्ताकपडा बरामद गरेको हो ।

बगानबाट आएको यात्रुवाहक बसभित्र भन्सार छलेका अवैध सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार बिहान उक्त सामान बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको सामानमा कुर्ता सुरुवाल, सर्टको कपडा र सारी रहेको छ । सामानलाई भद्रपुर भन्सार बुझाइसकेको उनले जानकारी दिए ।