भद्रपुर । मादक पदार्थ सेवन(मापसे)गर्नका लागि बुवाले रकम नदिएको विषयलाई लिएर छोराले दाउराको चिर्पट प्रहार गरी बुवाको हत्या गरेका छन् । चिर्पट प्रहारले बुवाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा कमल गाउँपालिका १ का अन्दाजी ७० बर्षीय सुर्यबहादुर थापामाथि उनकै छोरा अन्दाजी ३१ बर्षीय प्रकाश थापाले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार घरमा पहिले देखी नै बुवा छोरा सँगै बस्दै मापसे गर्दै आएका थिए । मापसेका कारण ७ महिना अघि मृतकलाइ सुधार गृहमा समेत राखिएको थियो । बिहीबार मृतकले बृद्ध भत्ता थापेर ल्याएका थिए ।

घरमा दुवैजनासँगै बसेर मापसे गरेका थिए । छोराले पुनः मापसे गर्न बुवासँग रकम मागेको विषयमा झगडा भई कुटाकुट समेत भएको थियो । सोही विषयलाई लिएर शुक्रबार बिहान विवाद हुदाँ सवा ७ बजे छोराले दाउराको चिर्पटले टाउकोमा हानी बुवाको घटनास्थलमा नै हत्या गरेको डिएसपी श्रेष्ठले बताए ।

घटनापछि स्थानीयले प्रहरी चौकी तोपगाछीलाइ खबर गरेका थिए । चोकीबाट गएको प्रहरी टोलीले प्रकाशलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए । अदालतबाट कर्तब्य ज्यान सम्बन्धी शुक्रबार नै मुद्दा दर्ता गराइ पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान गरिने उनले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि मोरङको मङ्गलबारे तर्फ पठाइएको उनले जनाए ।