जापानी इन्सेफ्लाइटिस रोगबाट मोरङको कानेपोखरीमा एक वृद्ध सिकिस्त रहेका छन् । वडा नं. २ स्थित ढिकुवाडाँगीका ६२ वर्षीय गणेशप्रसाद फुयाल सिकिस्त रहेको वडानम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले बताए ।
फुयाललाई उपचारको लागि विराटनगर हुँदै काठमाडौँसम्म पुर्याए पनि उपचार सम्भव नभएपछि सोमबार घर ल्याइएको छ । एक महिनाअघि सामान्य ज्वरो आएपछि चेकजाँच गर्ने क्रममा सो रोगको सङ्क्रमण भइसकेको चिकित्सकले बताएपछि उपचारको लागि विभिन्न ठाउँमा लगिएको थियो ।
उनी मात्र होइन, वडा नं. २ कै कालिस्थानका डेढ वर्षीय जितन राजवंशीलाई पनि लामखुट्टेको टोकाइबाट सर्ने मेनेन्जाइटिस रोग लागेको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष बुढाथोकीले बताए । त्यसैगरी वडा नं. २ कै केरौन चौककी १५ वर्षीया अनिता राई र एलिना लिम्बूलाई पनि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण देखिएको थियो । उनीहरू विराटनगरस्थित नोबेल अस्पतालमा उपचारपछि घर फर्केका छन् ।
जापानी इन्सेफ्लाइटिस जस्ता रोगहरू देखिन थालेपछि वडा नं. २ का अध्यक्ष बुढाथोकीको पहलमा अहिले सङ्क्रमित क्षेत्रमा रोगविरुद्धको औषधि छर्कने कार्य शुरु गरिएको छ । सङ्क्रमित क्षेत्रमा मात्र नभई समग्र गाउँपालिकाका सबै क्षेत्रमा औषधि छर्कन स्थानीयले माग गरेका छन् ।
जापानी इन्सेफ्लाइटिस रोग भाइरसको कारण लाग्ने हुनाले यसको पूरै उपचार हुँदैन । नेपाल सरकारको अन्तिम लक्ष रोगको निवारण नै हो । जापानी इन्सेफ्लाइटिस रोगको सङ्क्रमणदर हिमाल र पहाडमा २८ प्रतिशत अनि तराई क्षेत्रका जिल्लामा सबैभन्दा बढी सङ्क्रमणदर रहेको पाइन्छ ।
यो रोग भारत, नेपाल, थाइल्याण्ड र श्रीलङ्कामा सन् १९७८ देखि र नेपालको तराई आसपास देखिँदै आएको छ । रोगको नियन्त्रण र रोकथामको सजिलो उपाय जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप र लामखुट्टेको टोकाइबाट मानिस र बङ्गुरलाई जोगाउनु नै हो ।
































