धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार ४८ लाख धरौटीमा आज छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाएको आरोपमा नियन्त्रण लिएर उनी विरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा गत साउन १९ गते विशेष अदालतमा दायर गरेको थियो ।
विशेष अदालतका न्यायधिशद्वय कृष्ण सापकोटा र माधव बस्नेतको सयुक्त इजलासले आज सुनुवाई गदैं रौनियारलाई ४८ लाख धरौटीमा रिहा गरेको हो । उनीसँगै पक्राउ परेका उनका भतिजा डा.रामहरी रौनियार ४ लाख धरौटीमा छुटेका छन् । उनीहरुले आजै धरौटी बुझाई रिहा भएको अधिबक्ता चिरञ्जिवि कोइरालाले जानकारी दिए ।
होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकेदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको भन्दैं आयोगले १३ बर्ष कैद र सवा करोड जरिवानाको माग गदैं विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
उनीहरूलाई असार २६ गते आयोगले ८ लाख घुससहित पक्राउ गरेको थियो । प्रतिष्ठानका पूर्व उपकुलपति डा. वीपी दास, रजिष्टार तुलबहादुर श्रेष्ठसहित ८ जनालाई करिव २० करोडको विगोसहितको आयोगले लगाएको भ्रष्ट्रचार मुद्धाको भने फैसला भएको छैन् ।
































