पाँचथर / पाँचथरमा फरक शैली अपनाएर ठगी हुने गरेको रहस्य खुलेको छ । ठगीमा संलग्न कुम्मायक–३, रानीगाउँ घर भई फिदिम बजारमा बस्दै आएका लीला भनिने रिजन चौलागाईंलाई पाँचथर प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले जिल्लाका होटल व्यवसायी र सवारी चालकलाई प्रलोभनमा पारी विश्वासमा लिएर ठगी धन्दा गर्दै आएको अनुसन्धानबाट खुल्न आएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
डिएसपी कुँवरका अनुसार चौलागाईंले होटल व्यवसायी, सवारी चालक र मनि ट्रान्सफरका सञ्चालकलाई ठगी धन्दाको तारो बनाएको पाइएको हो । उनले होटल सञ्चालकलाई फोन गरी ‘मसँग गेष्ट छन्’ भन्दै लज बुकिङ र खाना अर्डर गर्ने, त्यसपछि बीच बाटोमा गाडी बिग्रिएर समस्यामा परेको बहाना बनाई आईएमई मार्फत् पैसा पठाइदिनु त्यहाँ आएर मिलाउँछु भनि पैसा प्राप्त गरेपछि सम्पर्क बिहीन हुने गरेको पाइएको हो ।
सवारी चालकहरुलाई पनि फोन गरेर ‘मसँग यति यात्रु छन्’ भन्दै उस्तै शैलीमा ठग्ने गरेको प्रहरीले जनाएको छ । उनले पछिल्लो समय फिदिम–एकतीन रुटमा चल्ने सवारी साधनका चालक अनिल ढुंगेललाई दश हजार रुपैंयाँमा गाडी रिजर्भ गरी उस्तै शैलीमा ठगी गरेका थिए । त्यसपछि फिदिम बजारको एक होटलमा ढुंगेलले दुखेसो पोख्दा होटलवालाले आफू पनि उसरी ठगीएको कुरा बताए पछि उनीहरु प्रहरी समक्ष पुगेका थिए ।
उनलाई फिदिम बजारबाटै प्रहरीले पक्रेको हो । अनुसन्धानको क्रममा उनले त्यहिं शैली अपनाएर आधा दर्जन होटल र सवारी चालकबाट पाँचदेखि सात हजार रुपैंयाँसम्म ठगी गरेको पाइएको हो । प्रलोभन र विश्वासमा पारी ठगी गर्ने चौलागाईं बिगतमा झापादेखि फिदिमसम्म चल्ने सवारी साधनमा सहचालकको रुपमा काम गरेको पाइएको प्रहरीले जनाएको छ ।
धेरै जना सवारी चालक र होटल सञ्चालकलाई चिन्ने हुनाले उनले ठगीको पहिलो तारो उनीहरुलाई नै बनाएको पाइएको हो । निज उपर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कुँवरले बताए ।
































