मधुमल्ला/ अविरल वर्षाका कारण गएको पहिरोले मावाखोला लघु जलविद्युत् आयोजनाको ट्रान्सफर्मर बगाएपछि दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ साक्फारा गाउँ नै अँध्यारो भएको छ ।

यही साउन १५ गतेको अविरल वर्षासँगै गएको पहिरोले मावाखोला लघु जलविद्युत् आयोजनाको ट्रान्सफर्मर बगाउँदा २ सय १५ घर उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएको मावाखोला लघु जलविद्युत् आयोजनाका सचिव मदन राईले बताए ।

पहिरोले ट्रान्सफर्मर र विद्युत् पोलहरूसमेत बगाउँदा लाखौंको क्षति पु¥याएको राईले बताए । दक्षिणी इलामको चुलाचुली गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने साक्फाराका स्थानीयले मोबाइलसमेत चार्ज गर्न नपाएको स्थानीय दीपक श्रेष्ठले बताए । उक्त स्थानमा वर्षासँगै आएको बाढीले सवारी आवागमनसमेत ठप्प भएकाले तत्काल मर्मत र पुनः निर्माणमा समेत समस्या रहेको स्थानीय अमिर राई बताउँछन् ।

उक्त स्थानमा पुग्न सबैभन्दा छोटो बाटो मिक्लाजुङ–मधुमल्ला–तोरीबारी हुँदै फुङ्नामसम्मको सडक पहिरोले अवरुद्ध भएकाले थप समस्या उत्पन्न भएको स्थानीय राजन राईले बताए ।

पहिरोले पुर्याएको क्षतिको विवरण चुलाचुली गाउँपालिकामा बुझाइसकेकाले चाँडै मर्मत हुनेमा आफू आशाबादी रहेको मावाखोला लघु जलविद्युत् आयोजनाका सचिव मदन राईले बताए । २०६६ सालदेखि सञ्चालनमा रहेको उक्त विद्युत् आयोजनाबाट २ सय १५ घरमा विद्युत् सेवा पुग्नुका साथै दुईवटा धान मिल र एउटा थुक्पा फ्याक्ट्री सञ्चालन हुँदै आएको छ ।