इटहरी/ प्रदेश १ कै सबैभन्दा धेरै भीडभाड हुने कार्यालय प्रमुखविहीन छ । सेवाग्राहीको अत्यधिक चाप रहने कोशी अञ्चल यातायात कार्यालय (सवारी) र लाइसेन्स कार्यालयमा निमित्तको भरमा कार्यसम्पादन हुँदै आएको छ ।
प्रदेश १ कै प्रमुख कार्यालयको रूपमा रहेको यातायात कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यातायात कार्यालयमा पुग्ने अधिकांश सर्वसाधारणले दुःख पाउने गरेका छन् । यातायात कार्यालय कोशी (सवारी)मा प्रमुख नहुँदा बिचौलियाहरूको मनपरीतन्त्र चलिरहेको इटहरी–१९ का सेवाग्राही सञ्जीव लिम्बूले बताए । सामान्य कामको लागि पनि कर्मचारीलाई पैसा खुवाउनुपर्ने बाध्यता भएको उनको गुनासो थियो ।
यातायातका दुवै कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको भए पनि कार्यालय प्रमुख नहुँदा समस्या दैनिक बढ्दो रहेको सेवाग्राहीले बताएका छन् । कार्यालयमा प्रमुख नहुँदा काममा समेत ढिलासुस्ती हुने गरेको बताउँछन् इटहरी–१ कै प्रदीप बस्नेत । उनी भन्छन्, ‘बिहानदेखि कार्यालय अगाडि लाइन बस्ने सर्वसाधारणहरू कर्मचारीको ढिलासुस्तीले आजित भएका छन् ।’
कोशी अञ्चल यातायात कार्यालयका (सवारी) निमित्त प्रमुख राजकुमार गुप्ताले कामचलाउ गदै आएको बताए । ‘प्रमुख नभएपछि मैले निमित्त प्रमुखको जिम्मेवारी लिएर काम गर्दै आएको छु’ गुप्ता भन्छन्, ‘कार्यालयमा २७ जना कर्मचारीको दरबन्दी रहेको भए पनि कार्यालय प्रमुख भने लामो समय देखि हुनुहुन्न ।’
कोशी अञ्चल सवारी र लाइसेन्स शाखामा केही महिना उपसचिव भीम गौतम कार्यालयका प्रमुख भएका थिए तर प्रदेश सरकारले उनले कार्यालय समयमै मादक पदार्थ सेवन गरेको भन्दै प्रदेश तानेपछि कार्यालय प्रमुखविहीन हुनपुगेको हो । लामो समयसम्म दुवै कार्यालयको प्रमुख बनेका भीमले यातायात कार्यालयकै बदनाम गरेको भन्दै मुख्यमन्त्रीले कारबाहीस्वरूप प्रदेशमा तानेका थिए ।
यता कोशी अञ्चल यायातात कार्यालय लाइसेन्स शाखाकी निमित्त प्रमुख विन्दा नेपालले भने कार्यालय प्रमुख नहुँदा पनि जनताको काममा कुनै समस्या नभएको बताइन् । उनी समस्याको समाधान गर्न लागिपरेको बताउँछिन् । कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी पूरा नभएका कारण आइटीमा भने केही समस्या भएको उनको भनाइ थियो ।
‘निजामति सेवा ऐनअनुसार कामु वा निमित्त प्रमुख बढीमा ६ महिनाका लागि मात्र हो’ उनले भनिन्, ‘त्योभन्दा बढी समय चलायो भने कामु वा निमित्तले गरेका काम कारबाही वा निर्णय स्वतः बदर हुने कानूनी प्रावधान छ ।’ उनका अनुसार निजामति सेवा ऐनअनुसार कुनै पनि दरबन्दीमा कामु वा निमित्त दिन मिल्छ । तर त्यही व्यक्तिलाई त्यही कार्यालयमा ६ महिना बढी दिन मिल्दैन । तर त्यस्ता प्रमुखले आफ्नो पद जनाउँदा कामु र निमित्तसमेत लेख्न छाडेका छन् ।
तथ्याङ्कविहीन कार्यालय
इटहरीमा रहेको यातायात व्यवस्था कार्यालयमा बर्सेनी ठूलो सङ्ख्यामा साना–ठूला सवारी दर्ता हुन्छन् । तर ती सवारीमध्ये कतिले बर्सेनी नवीकरण गर्छन्, त्यसको यकिन तथ्याङ्क कार्यालयसँगै छैन । कार्यालयमा हालसम्म ४ लाख ४५ हजार १ सय १९ साना–ठूला सवारी, मोटरसाइकललगायत सम्पूर्ण सवारी दर्ता भइसकेका छन् । तर यीमध्ये कति नवीकरण बिना नै गुड्छन् भन्ने यकिन तथ्याङ्क दर्ता गर्ने कार्यालयलाई नै थाहा छैन ।
यातायात व्यवस्था कार्यालय र शहरमा ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक प्रहरी कार्यालयले चासो नदिँदा यो समस्या बढ्दै गएको छ । यी दुई कार्यालयबीच समन्वय नहुँदा समस्या थप बढेर गएको छ । तर ट्राफिक प्रहरीसँग समन्वय भइरहेको यातायात कार्यालयका निमित्त प्रमुख गुप्ताले बताए ।
































