मोरङ/ सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले बाघझोडा सिमसार क्षेत्र संरक्षण गर्न र त्यसलाई पर्यटकीय स्थल बनाउन ध्यान नदिएको संविधानसभाका पूर्व सभासद चन्द्र गुरुङले आरोप लगाएका छन् । बाघझोडा सिमसार क्षेत्र संरक्षण तथा निर्माण समितिका अध्यक्ष गुरुङ सोही नगरका बासिन्दा हुन् ।
इन्द्रपुर गाविस भएको बेलादेखि बाघझोडा सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न विस्तृत अध्ययनका लागि डिपिआर तयार गरिसकिए पनि हालका मेयर ढकालले असहयोग गरेको समितिका अध्यक्ष गुरुङले बताए । उनले भने, ‘चारकोशे जङ्गलको छेउमा रहेको सिमसार ७ बिघा ५ कट्ठा १२ धुर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ बाह्रैमास पानी हुन्छ । त्यहाँको जलाशयलाई सदुपयोग गर्दै स्थानीय समुदायको आर्थिक स्तर उकास्न सकिने उपाय हुँदाहुँदै पनि जनप्रनिधिहरूले ध्यान दिएनन् ।’
सिमसार क्षेत्र मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा पर्छ । सिमसारको पानीले सयौँ बिघा जमिनमा खेती हुने गरेको छ । थप अतिक्रमण हुनबाट जोगाउँदै सिमसार क्षेत्रको वरिपरि पैदल यात्रीका लागि मनोरञ्जन स्थल, फनपार्क, पिकनिक स्पट, सानो सडक, विभिन्न प्रजातिका रुख रोप्ने, बालउद्यान, नौकाविहार, आराम गर्ने चौतारो, टिकट घर, शौचालय, पानीको ट्याङ्की, जैविक विविधता संरक्षण, पानी पोखरी वरिवरि पक्की बाँध निर्माणका लागि गुरुङले पहल गरिरहेका छन् ।
हाइवेमा रहेको खोर्साने चोकदेखि एक किलोमिटर उत्तरमा रहेको सिमसारकालागि स्थानीय सरकारसँग बजेट विनियोजन गर्न मौखिक रूपमा माग गिएको थियो । गाविस हँुदैदेखिको योजना भएकाले मौखिक रूपमा मात्र बजेट मागिएको तर बाघझोडा सिमसारलाई नदिएर महेन्द्र राजमार्गबाट ६ किमि उत्तरमा पर्ने जङ्गलको बीचको करिब १ बिघामा फैलिएको सानो हसिना सिमसारका लागि लाखौं रुपैयाँ विनियोजन गरेको उनले बताए ।
उक्त सिमसारका लागि कसैले बजेट नै माग नगरेको पनि उनले बताए । यसै गरी नगरपालिकाले बजेट नै नमागिएको किस्ता खोला थुन्न सवा करोड रुपैयाँ बजेट विनियोजन गरेर बालुवामा पानी खन्याए झैँ स्वाहा बनाएको पनि बताए । समितिका सचिव तुलसी रिमाल र सदस्य शैलेश साँवाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले जनताको इच्छा र भावनाले काम भइरहेको ठाउँमा आवश्यकताअनुसार विकास निर्माणमा बजेट विनियोजन गर्नु पर्नेमा त्यसो नगरिएको गुनासो गरे ।
उनीहरूका अनुसार संरक्षण समितिले प्रदेश सरकारले २० लाख रुपैयाँ, राष्ट्रपति चुरेभावर संरक्षणले १५ लाख रुपैयाँ, साझेदारी वनले ५ लाख गरी ४० लाख रुपैयाँले करिब १ करोड रुपैयाँ बराबरको काम गरेको बताए । उक्त रकमले २ सय ६० मिटर ग्याभिङ तारजाली लगाई सकिएको छ । सिमसारक्षेत्र सफा गर्नका लागि दुईवटा स्काभेटर ४ महिना प्रयोग गरिएकोमा खर्च भएको बताए ।
नगरपालिकाका प्रमुख राजकुमार ओझाले ‘बाघझोडा सिमसार क्षेत्र संरक्षणका लागि वडाबाट माग हुनुपर्नेमा कसैले माग नगरेको बताए । उनले भने, ‘डिपिआर पेश भएको भए र बजेट माग गरिएको भए बजेट विनियोजन हुन्थ्यो ।’ मेयर ढकाल काङ्ग्रेस हुन् भने र चन्द्र गुरुङ संविधानसभाका नेकपाका पूर्व सभासद् हुन् । राजनीतिक खिचातानी र जुँगाको लडाइँले बाघझोडा सिमसार क्षेत्र प्रदेश १ को उत्कृष्ट पर्यटकीय स्थल बन्नमा ढिलाइ भएको स्थानीय बासिन्दाले बताए ।
































