धरान/ १२ वर्षदेखि धरानको कलेज रोडमोडमा पानीपुरी, चट्पटे बेच्दै आएकी मञ्जुदेवी दास बिहीबार दिउँसोपनि छोरासँगै ठेला लिएर भर्खर बजार आउँदै थिईन् ।

सडकमा ठेला ठेलिरहेका आमा-छोरालाई धरान उपमहानगरपालिकाकी एक नगर प्रहरी महिलाले हप्काउँदै सोधिन्, ‘ठेला कहाँ राख्ने ?’ नगर प्रहरीको कडा स्वर सुनेर आमा छोरा बोलेनन् । त्यसपछि नगर प्रहरी महिला झन् कड्किंदै उनीहरुको ठेला छेउ पुगेर थर्काइन्, ‘हामीले सोध्दा जवाफ नदिने ? पख् ।’ त्यसपछि ठेलावालका छोरा पनि ति नगर प्रहरी महिलासँगै बाझ्न थाले । त्यतिकैमा नगर प्रहरीको पोशाकमै रहेकी महिला रुन थालिन् ।

ठेला ठेलिरहेका आमा छोरा त्यहाँबाट भागेर कलेजरोडतिर लागे । एकछिनपछि नगर प्रहरी गाडि लिएर आईपुगे । त्यसपछि उनीहरुबीच तानातान शुरु भयो । मञ्जुदेवी र उनका छोरा ठेलामा भएका पानी पुरी र चटपटेका समान आफुतिर तान्ने, नगर प्रहरीको टोलि ठेला गाडिमा हाल्न खोज्ने ।

एकछिनमा प्रहरीले मञ्जुदेवीका छोरालाई लछारपछार पार्दै गाडिमा हाल्न खोजे तर उनि उम्किए भागे । मञ्जुदेवीले गुनासो गरिन्, ‘हामी घरबाट भर्खर आउँदैथियौं । बिक्री गर्नै पाएका थिएनौं, एक्कासी हप्काएर सोध्दा डरले बोल्न सकेनौं । त्यहि निउँमा सबै समान लिएर गए ।’

नगर प्रहरीको रवाफ र पानीपुरी बेच्ने आमा छोराको निरिहता कलेजरोड मोडका व्यापारीहरुले रमित मानेर हेरे । कलेज रोडको दायाँ बायाँ एकैछिनमा रमित हेर्नेको भीड लाग्यो । कलेज रोडमै टेलर्स सञ्चालन गर्ने इमरन अन्सारीले भने, ‘उनीहरुले ठूलै अपराध गरे जसरी छोरालाई गाडिमा हाल्यो, कमाइ खाने मान्छेको सबै समान खोसि दियो । अधिकार छ, पावर छ भन्दैमा यसरी हेपेको राम्रो लागेन ।’

मञ्जुदेवीले ठेलामा पानीपुरी, चट्पटे बेच्न उपमहानगरपालिकाबाट अनुमति पनि लिएकी छिन् । उनको ठेलालाई उपमहानगरले २२५ नम्बरमा दर्ता गरेको छ । त्यहि आधारमा हरेक दिन ३५ रुपैयाँ कर पनि तिर्ने गरेको उनी बताउँछिन् । दैनिक ३५का दरका तिर्दा उनीहरुले वार्षिक १२ हजार भन्दा बढि तिर्छन् ।

मञ्जुदेवी त्यहि ठेलामा पानीपुरी, चट्पटे बेचेर चार छोराछोरी पाल्छिन् । नगर प्रहरीले बेच्न तयार पारेका सबै समान लगिदिएपछि गुनासो गर्दै उनले सुनाईन्, ‘पानीपुरी, चट्पटेका लागि पाँच हजार भन्दा बढिको समान थियो । भाँडासहित गर्दा २० हजारजतिको लगिदियो ।’

नगरप्रहरीले पैसा राख्ने गल्ला समेत लगिदिएको उनले गुनासो गरिन् । भन्छिन्, ‘हामीले बाटो छेकेर पनि राखेका थिएनौं । यो ठाउँमा नराख्नु भनेको भए हामी मानि हाल्थ्यौं । तर एक्कासी आउँदा आउँदै खोसिदिए ।’

नगरप्रहरी र मञ्जुदेवीको झगडा हेरिरहेका लक्ष्मी श्रेष्ठलाई सामान्य ठेला व्यापारीसँग नगर प्रहरीले खेदाएको रवाफ चित्त बुझेन । उनले भने, ‘ठूला व्यापारीले सडकै मिचेर पसल चलाउँदा पनि बोल्न सक्दैनन्, सडकमा सानातिनो व्यवसाय गर्नेलाई दुख दिन्छन् । यिनीहरुलाई दुख दिनु पर्ने कारणै थिएन । यो त नगरप्रहरीको ज्यादती हो ।’

उपमहानगरपालिकाका प्रसासकीय अधिकृत गणेशप्रसाद खतिवडा भने निशेधित क्षेत्रमा राखिएका ठेला हटाउने नगरपालिकाको नीति भएको बताए । उनले भने, ‘शुरुमा सम्झाईन्छ, त्यसपछि पनि अटेर गरे समानै उठाएर लैजान्छौं ।’