धरान । डेङ्गु महामारी नियन्त्रण गर्न ‘सचेतना, लार्भा नष्ट र उपचार’ नै उत्तम विकल्प भएकाले त्यसतर्फ पाइला चाल्न नगरबासीलाई स्थानीय सरकारले आग्रह गरेको छ ।
बिहीबार धरान उपमहानगरले विज्ञ तथा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै स्थानीय सरकारले नगरमा एकैपटक सचेतना कार्यक्रम गर्ने गरी कार्यक्रम अगाडि बढाउने भएको छ । धरान उपमहानगरले ‘एक्सन टिम’ लाई एकैपटक सञ्चालन गर्ने उपमहानगरकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । धरानमा वैशाख ३१ गतेबाट दोस्रो पटक डेंगु देखिन थालेको थियो । जसबाट १ जनाको ज्यान गइसकेको आधिकारिक तथ्यांक छ । अन्य थप ३ जनाको डेंगुकै कारण ज्यान गएको सरोकारवालाले जानकारी दिएका छन् । धरान १६ का वडाध्यक्ष दिलकुमार गिरीले धरान–५ देउरालीकी कुसुम लकान्द्रीको पनि डेंगुकै कारण मृत्यु भएको जनाइएको छ ।
त्यस्तै धरान इङ्लििस बोर्डिङ स्कुलका एक जना विद्यार्थी र बुधबार धरान–९ आचार्यलाइनमा पनि एक जना ज्यान गएको एक स्थानीयले बताएका छन् । डेङ्गुलाई सामान्य रोगको रूपमा बुझिरहेका कारण पनि यसले महामारीको रूप लिएको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका सुक्ष्म जीव विज्ञान विभागका विभागीय प्रमुख धिरेन लिम्बूले बताए ।
धरान उपमहानगर स्वास्थ्य शाखाका अनुसार धरानमा २ हजार ८ सय ३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । यो तथ्याङ्क बीपी कोइारला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालबाट सङ्कलन गरेको तथ्याङ्क हो । यसबाहेक निजी क्लिनिकहरूमा अझै धेरै डेंगुका विरामी हुन सक्ने अनुमान नगरले गरेको छ । स्वास्थ्य शाखाका प्रमुख कविराज रामबाबु यादवले सरकारले मात्रै नभइ नागरिक तहबाट पनि निर्मूल पार्नका लागि अभियान चलाउनुपर्ने बताए ।
































