ताप्लेजुङ / ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनाममा गत साउन १२ गते दिउँसोवाट हराईरहेकी दुई वर्षीया बालिका करिव ५० घण्टापछि सुरक्षित भेटिएकी छिन् । आइतवार अपराह्न साढे ३ बजे घरैवाट हराइरहेकी सुङनिमा इवाराम लिम्बू सोमवार साँझ घर भन्दा एक किलोमिटर माथीको खरवारीमा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए ।
डिएसपी थापाको नेतृत्वमा खटिएको टोलीले खरवारीमा सुरक्षित अवस्थामा बालिकालाई फेला पारेको हो । ‘प्रहरी, ससस्त्र र स्थानिय सहितको टोलीले ५० घण्टापछि बालिका फेला पारी परिवारलाई जिम्मा लगाएका छौँ । बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।’ डिएसपी थापाले भने–‘बालिका कसरी त्यहाँसम्म पुगिन् भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।’ अभिभावक खेतीको काममा गएका बेला हजुर वुवासँग घरमा बसेकी बालिका बेपत्ता भएकी थिइन् ।