मधुमल्ला । नुनसरी–बक्राहा खोलाले कटान गरेका क्षेत्रहरू उर्लाबारी, मिक्लाजुङ, रतुवामाई, सुनवर्षी, चुलाचुली र पथरीशनिश्चरे क्षेत्रहरूकोे आइतबार र सोमबार कोशी तथा बक्राहा नदी व्यवस्थापन प्रमुख ईश्वरीप्रसाद तिवारीसहितको टोलीले निरीक्षण गरी आपत्तकालीन कार्यहरू गर्न निर्देशन दिएको छ ।

कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना प्रमुख ईश्वरीप्रसाद तिवारी र मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बू (कुशल), स्थानीय तहका प्रमुखहरूसहितको टोलीले कटान गरेको क्षेत्रको निरीक्षण गरेको हो । नुनसरी–बक्राहा खोलामा आएको बाढीले स्थानीयलाई दिनमा काम गर्न नदिने र राति आराम गर्नसमेत गर्न नपाएको मिक्लाजुङका वीरेन्द्र मगरले बताए ।

अविरल वर्षासँगै नदीमा पानीको बहाव बढेर जनजीवन कष्टकर बन्दै गएका कारण आयोजना प्रमुख तिवारी र सांसद् लिम्बू निरीक्षणमा आएका हुन् । उक्त टोलीले उर्लाबारी १ को मेचेडाँगी, उर्लाबारी–८ सन्थाल बस्ती, मिक्लाजुङ–९, ६, ७ र चुलाचुली वडा नं. ६, पथरीशनिश्चरे, रतुवामाई र सुनवर्षी नगरपालिकाको नुनसरी–बक्राहा खोलाको कटान र क्षतिको स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणको क्रममा प्रमुख तिवारीले बक्राहा खोला तटबन्धन व्यवस्थापनमा पाँच करोड रुपैयाँ छुट्टिएको बताए । तिवारीले भने, ‘म आफू यस परियोजनामा निरन्तर दुईवर्ष रहिरहेमा नुनसरी–बक्राहा खोलालाई दुईवर्षभित्रमा पाताफर्काई यो त्राही–त्राहीबाट मुक्त बनाउनेछु ।’

उनले उर्लाबारी–१ को मेचेडाँगीको सुकुम्बासी टोल र मिक्लाजुङ–६, ७ र ९ मा स्पर निर्माण र च्यानलाइज गर्न आइतबारदेखि नै शुरु गराएका छन् भने ९ सय थान बोरा स्थानीयलाई अस्थायी बाँध निर्माणका लागि उपलब्ध गराएका छन् । मिक्लाजुङ वडा नं. ७ मा स्पर बनाउन आइतबारदेखि नै शुरु गरिएको छ । सो वडामा तीनवटा स्पर हाल्ने र केही ठाउँमा स्पर मर्मत गर्ने उनले जानकारी दिएका छन् ।

यसै क्रममा सांसद् लिम्बूले आयोजनामार्फत् छुट्टिएको पाँच करोड रुपैयाँ अपुग भएकोले थप रकम उपलब्ध गराउन माग गरेका छन् । सांसद् साम्बाले बक्राहा नदी नियन्त्रणका लागि ४ अर्ब बजेट आवश्यक पर्ने बताए । उनले उर्लाबारी, मिक्लाजुङ, चुलाचुली, पथरीशनिश्चरे, रतुवामाई र सुनवर्षीलगायत ६ वटा स्थानीय तहका विभिन्न स्थानमा निरीक्षण गराउँदै आयोजना प्रमुखलाई स्थानीय जनताको सारथि बनिदिन साम्बाले आग्रह गरेका छन् ।

सोही क्रममा सांसद्, स्थानीय जनप्रतिनिधि, इञ्जिनियरलगायतको टोेलीसँग स्थानीय बासिन्दाले गुनासोसमेत व्यक्त गरेका छन् । मिक्लाजुङ–७ का नवीन थापाले खोलामा बाढी आएर कतिखेर लैजान्छ भन्ने पत्तो नहुने भन्दै ज्यान बचाइदिन आग्रह गरेका छन् ।

त्यसैगरी यामबहादुर बोहोराले खोलाको नजिकै रहेको बस्तीसमेत जोखिम भएकाले विशेष ध्यान पु¥याइदिन आग्रह गरेका छन् । कतिपय ठाउँमा स्थानीयको प्रयासले कटान रोक्न सम्भव नभएपछि सरकारलाई गुहार्नु परेको बताएका छन् । नुनसरी–बक्राहा खोलामा वर्षा शुरु भएदेखि कटान लाग्दै आएको छ । स्थानीयले तीन–चार दिनदेखि स्काभेटर लगाएर रोकथामका प्रयास गरिरहेका छन् ।

उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले विपद्को अवस्था आएकाले संवेदनशील क्षेत्रहरूमा विपद्को रकम दिन आयोजना प्रमुख, प्रदेश सांसद् र इञ्जिनियरलाई आग्रह गरेका छन् । उनले स्थानीय जनता आकासमा कालो बादल र गड्याङ् गुडुङ गर्नासाथ रातभर जाग्राम बस्नुपर्ने बाध्यता हटाइदिनसमेत अनुरोध गरे ।

त्यस्तै स्थानीयस्तरमा जनप्रतिनिधिहरूसमेत आ–आफ्नो क्षमताले भ्याएसम्म निरन्तर नुनसरी–बक्राहा खोलाको नियन्त्रण गर्न निरन्तर लागिपरेको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धिलाल निरौलाले बताए ।