धनकुटा । दुई हप्ता अघिदेखिको नियमित वर्षाका कारण पहिरो जाँदा धनकुटा नगरपालिका वडा नं.६ फोक्ल्याण्ड टापुमा ३ घरपरिवार विस्थापित भएका छन् १२ घर जोखिममा परेका छन् ।
अत्यधिक वर्षाको कारण धरान–धनकुटा राजमार्गको फोक्ल्याण्ड टापु चोकदेखि दक्षिणकाली मन्दिर जाने सडकको ग्याविन पहिरोले तानेपछि सडक जोखिममा परेकाले सवारी–साधन आवागमनसमेत ठप्प भएको छ । अविरल वर्षाको कारण तीनघरको माथिबाट पहिरो झर्नुको साथै घरमुनिबाट पनि धोवीखोलाको पहिरोले तानेको कारण ३ घर विस्थापित भएका छन् ।

विस्थापित हुनेहरूमा तेजबहादुर राईको परिवार ५ जना, पदमशेर राईको घरबाट ४ जना र श्यामकुमारी राईको ४ जना रहेका छन् । तीनै घरको पश्चिमबाट दक्षिणकाली मन्दिर जाने सडकको पहिरो झरेर घर पुरेको छ भने पूर्वतर्फ धोवीखोलाले गर्दा घरमुनि पनि पहिरो गएकोले पूर्णरूपमा विस्थापित भएका हुन् ।

अहिले उनीहरू छिमेकी ऋतु श्रेष्ठको घरमा शरण लिएर बसेको पहिरो पीडित पदमशेर राईले बताए । उनले तीनै घरका १३ जना छिमेकीको घरमा शरण लिएर बसेको बताए । त्यसैगरी फोक्ल्याण्ड टापु टोलबस्ती अन्तर्गत श्यामकुमारी राई र सूर्यबहादुर राईको घरमाथिबाट आएको पहिरोको कारण जोखिममा रहेको छ । त्यसैगरी सन्तबहादुर राई, महेन्द्रबहादुर राई, शेरबहादुर भण्डारी र विशाल राईको घर पनि सडकको पहिरोको कारण जोखिममा परेको फोक्ल्याण्ड टापु टोलबस्ती सङ्गठनका सल्लाहकार शिव तिगेलाले बताए ।

त्यसैगरी कमल तिगेला, धनबहादुर राना मगर, घनेन्द्रराज श्रेष्ठ, अशोक राई, सञ्जु राईको घर ल्याण्डफिल्ड साइडबाट बग्ने खोल्सीको कारण पहिरो जाँदा बढी जोखिममा परेको तिगेलाले बताए । त्यसैगरी धोवीखोलाको बाढीले गर्दा पहिरो जाँदा कल्याणभगत श्रेष्ठ र धनकुटा क्याम्पसको डिलबाट झरेको पहिरोले गर्दा निर्माण व्यवसायी काजी राईको घर जोखिममा परेको तिगेलाले बताए ।

धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठले ६ नम्बर वडाको फोक्ल्याण्ड टापुमा तीन घर विस्थापित, १२ घर जोखिममा परेको बताए । उनले हालसम्म क्षतिको एकिन विवरण नभए पनि वर्षाको कारण पहिरो जाँदा लाखौंको क्षति भएको बताएका छन् ।

हालसम्म रेडक्रस सोसाइटी धनकुटाले कम्बल, त्रिपाल, लत्ताकपडा, बाल्टिन, भाँडावर्तन र ६ नम्बर वडा कार्यालयले ६ थान त्रिपाल, जिरोपोइन्ट टोलबस्ती सङ्गठनले पनि त्रिपाललगायत राहत सामग्री प्रदान गरेको राईले बताए । उनले थप राहतको लागि धनकुटा नगरपालिका कार्यालय, जिल्ला दैवी प्रकोप उद्धार समितिको कार्यालय धनकुटामा लागि पहल भइरहेको बताए ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वर्षाको कारण नगरवासीलाई पुगेको क्षतिको विवरण सङ्कलन गर्न वडा नं.७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियाको संयोजकत्वमा प्राविधिकसहितको अनुगमन समिति निर्माण गरिएको बताए ।

प्रमुख तामाङले स्थगलतरूपमा अनुगमन टोलीले प्राविधिक मूल्याङ्कनसहितको क्षतिको विवरण ल्याएपछि राहत र भौतिक पुनःनिर्माणको लागि नगरपालिकाले सिफारिस गर्ने बताए । उनले क्षतिको अवस्था हेरेर स्थानीय तहमा सम्बोधन गर्न सक्नेखालका क्षतिलाई नगरपालिकाले सम्बोधन गर्ने र नगरपालिकाले नसक्ने ठूला क्षतिलाई सङ्घीय सरकारसँग अनुरोध गर्ने बताए । उनले अहिले पनि सामान्य खालका क्षतिको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले अनुगमन टोली मङ्गलबारदेखि क्षतिको विवरण सङ्कलन गर्न वडातहमा जाने बताए ।