धरान/ मादक पदार्थ सेवन(मापसे) गरेर यातायातका साधन चलाउनेलाई अब ट्राफिक प्रहरीले ठाउँका ठाउँ प्रमाण–पत्र दिने भएको छ ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरका मुख्य शहरमा जाँच गर्दा मापसे गरेको पाएमा सेवन गरेको मात्रासहित तुरुन्तै प्रमाण–पत्र प्रिन्ट गरेर दिने भएको हो । प्रदेश ट्राफिक प्रहरीका प्रमुख एसपी भीमबहादुर दाहाल भन्छन्, ‘अब मापसे गर्नेलाई तुरुन्तै उसले खाएको मात्रासहित प्रमाणका लागि पत्र दिएर जरिवाना असुल गरिन्छ ।’

एक नम्बर प्रदेश सरकारले ट्राफिक प्रहरीलाई आइतबार २४ लाख ४३ हजार ४ सय रुपैयाँका २० वटा आधुनिक ब्रेथलाइजर प्रदान गरेको छ । ब्रेथलाइजरमा मादक पदार्थ सेवनको मात्रासहित प्रिन्ट गर्ने सुविधा रहेको छ । यसअघि ट्राफिकसँग ५१ वटा ब्रेथलाइजर भए पनि मापसे गरेको मात्रा स्क्रिनमा मात्र देखिने तर प्रिन्ट हुने व्यवस्था थिएन ।

त्यसैगरी प्रदेश सरकारले ट्राफिकलाई ४८ लाख १७ हजार १ सय ९० रुपैयाँ मूल्यका ७ वटा राडार गन पनि दिएको छ । राडार गनले यातायातका साधनको गति मापन गर्छ । एसपी दाहाल भन्छन्,‘हाई–वेमा ओभरस्पिड कुदाउनेलाई अब हामी छाड्दैनौं ।’

पहिला प्रदेश ट्राफिकसँग ४ वटा मात्र राडार गन थिए, ती पनि राम्रो गुणस्तरका थिएनन् । एसपी दाहालले ओभरस्पिडमा कुदाउने मोटरसाइकल, बसलगायतका कुनै पनि साधनलाई नियन्त्रणमा लिएर तुरुन्तै कारबाही गरिने बताए ।

आइतबारै प्रदेश सरकारले ४ लाख २९ हजार ४ सय मूल्यका १ सय थान ह्विल लक पनि दिएको छ । यसले जथाभावी पार्किङ गरिएका यातायातका साधन लक गरेर नियन्त्रणमा लिइन्छ । ट्राफिकलाई जम्मा ७७ लाख ९ हजार ९ सय ९० रुपैयाँका उपकरणहरू प्रदेश नं.१ सरकारका आन्तरिक मामिला कानून तथा मन्त्री हिक्मत कार्कीले वितरण गरे । उनले आगामी दिनमा पनि प्रदेश ट्राफिकलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।

आवश्यक उपकरण अभावमा ट्राफिक प्रहरीलाई काम गर्न असहज भएका बेला मन्त्रालयको सहयोग पाएको एसपी दाहालले बताए । उनले भने, ‘प्रदेश सरकारको सहयोगले धेरै राहत हुने भयो । अब मापसे गरेर कुदाउने, ओभरस्पिड कुदाउने र जथाभावी पार्किङ गर्नेलाई छुट हुँदैन । उनीहरू कारबाहीका भागी हुनेछन् ।’