यासोक/ एकाबिहानै पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाको फोनमा घण्टी बज्यो । उनले हतार–हतार फोन उठाए । फोनमा खबर आयो, ‘गर्भवती महिलाको ज्यान जोखिममा छ लौ न बचाउनु पर्यो ।’
बाढी पहिरोले सडक अवरुद्ध थिए । त्यसपछि उनले विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीलाई फोन गरी आवश्यक सहयोगको लागि आग्रह गरे । विभिन्न निकायको समन्वयपछि नेपाली सेनाको हेलिकप्टरबाट तुम्बेवा–४ की २० वर्षीया रूपा लावती साँवाको उद्धार भयो ।
चिकित्सकले दिएको म्यादभन्दा १३ दिनपछि पनि बच्चा जन्माउन नसकेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई उपचारको लागि लगिएको हो । गर्भवती महिलाको ज्यान जोखिममा परेपछि गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी महिलाको उद्धार गरिएको तुम्बेवा गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
‘गाउँपालिकाको स्वास्थ्य चौकीमा गर्भवती महिलाको सामान्य चेकजाँच मात्रै हुन्छ’ अध्यक्ष थापा भन्छन्, ‘कतिपय अवस्थामा गम्भीर समस्या देखिएका महिलाहरूलाई सदरमुकाम लानु पर्ने अवस्था छ । त्यसैले हामीले हेलिकप्टर मगाएर उनको उद्धार गरेका हौं ।’
दुर्गम क्षेत्रका गर्भवती महिलालाई उद्धार गर्न महिला तथा बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा हेलिप्टर झिकाएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । गर्भवती महिलाको ज्यान जोखिममा पर्ने अवस्था भए नेपाल सरकारको लगानीमा त्यस्ता महिलाको उद्धार हुने वस्तीले सुनाए । सरकारको लगानीमा हिमाल र पहाडका महिलालाई हेलिकप्टरबाटै उद्धार गरिँदै आएको छ ।
रूपाको जस्तै धेरै महिलाहरूले यस्तै पीडा खेप्नुपरेको छ । त्यस्तैमध्येकी अर्की हुन् पाँचथरको कुम्मायक गाउँपालिका–१ की मालता सम्बाहाम्फे । गाउँमा राम्रो स्वास्थ्यसंस्था नहँुदा र जोखिममा रहेका गर्भवतीको सरकारले उद्धार गर्छ भन्ने जानकारी नहुँदा कतिपयलाई लाखौं रुपैयाँ खर्चेर हेलिकप्टर चढ्नु पर्ने बाध्यता रहेको छ । कसैले राज्यबाट सहयोग पाउने गरेका छन् भने कसैले व्यक्तिगत लगानीबाट हेलिकप्टर चढ्नु पर्ने बाध्यता छ ।
आमा र बच्चाको ज्यान जोखिम भएपछि ऋणपान गरेर हेलिकप्टरबाट उपचार गर्न लानुपरेको तीतो यथार्थ मालताका श्रीमान् देवेन्द्र सम्बाहाम्फेको छ । ‘प्रसव पीडामा छट्पटिएकी श्रीमतीलाई रातभर स्वाथ्य चौकीमै राख्यौं, केही उपाय नलागेपछि बिहानै सदरमुकामसम्म एम्बुलेन्समा पनि लाने प्रयास भयो’ उनी भन्छन्, ‘तर सडक जीर्ण भएकाले त्यो पनि सफल भएन, सास रहेसम्म आश भने झैं सबैसँग सहयोग मागेर हेलिकप्टर झिकाउनु पर्यो ।’
उनले हेलिकप्टर मगाउँदा शुरुमै ३ लाख ५० हजार रुपैयाँ डिपोजिट राख्नुपर्यो । त्यति गरेर भए पनि श्रीमती र बच्चाको ज्यान बचाउन भने सफल भए ।
आर्थिक रूपमा विपन्न समुदायको लागि हेलिकप्टरमा महँगो खर्च गरेर उपचार गराउन असम्भव प्रायः हुन्छ । समयमै राम्रो अस्पताल पु¥याउन नसक्दा कतिले बाटैमा ज्यान गुमाउनु परेको छ भने कतिको बाटैमा बच्चा खेर जाने गरेको स्वाथ्य चौकी यासोकका प्रमुख केदार खड्का बताउँछन् ।
विभिन्न स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सञ्चालनमा छ । बर्थिङ सेण्टरको पनि व्यवस्था छ । तर कहिलेकाहीँ यस्ता समस्या देखापर्ने खड्का बताउँछन् । स्थानीय तहमा स्वास्थ्य सेवालाई छिटो र छरितो तरिकाले सञ्चालन गर्न उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभाव छ । नागरिकसम्म स्वास्थ्यको पहुँच नपुग्दा सिंहदरबारको अधिकारलाई अनुभूति गर्न सकेका छैनन् । यस्तो अवस्थामा सरकारको ध्यान जानुपर्ने सरोकारवालाहरू बताउँछन् ।