धरान/कवि कुन्ता शर्मा शनिबार कवि कृष्ण पाख्रिनका वैयक्तिक कुरा गर्दै पछिल्लो कृति ‘कविताहरू’ को एउटा कवितामार्फत् स्टेजमा खुलिन् ।

‘छोरा नम्बर–१’ कविता वाचन गर्दै पाख्रिनलाई सालीन, भद्र कविका रूपमा आफूले चिनेको प्रसङ्ग कोट्याइन् । अरूलाई नबिझाउने अत्यन्तै सरल पाख्रिनका कविताहरू भने निकै शक्तिशाली रहेको तर्क गरिन् । उनको कुरा सुनिरहँदा होटल रत्नाइनको हल शान्त र पाख्रिन झैँ शालीन थियो । कलरव धरानले शनिबार ‘चर्चामा कृष्ण पाख्रिनका कविताहरू’ कार्यक्रम भइरहँदा ९ कविले पाख्रिनका कविताहरू वाचन गर्दै परिचर्चा गरे ।

पाख्रिनका ३ वटा सङ्ग्रहमा सङ्ग्रहित कविताहरूमध्ये १० वटा कविता छनौट गरेर उनको परिवारले ‘कविताहरू’ नामक कृति प्रकाशित गरेको हो । कविता वाचन गर्ने ९ जना कविबाटै लोकापर्ण पनि गरियो । त्यो क्रममा कवि तथा प्राध्यापक राजेश विद्रोहीले मरभूमि, राम खरेलले आखिर मनै त हो, देवान किरातीले विक्षिप्त भाषण, धिरज याकदुङले मदारीको कविता, टीका आत्रेयले विसङ्गत माया, सीमा आभाषले जेनी सुतेकी छे, सन्तोष थेबेले शताब्दी र अग्रज कवि बम देवानले मानिस, कविता र ह्दय कविता वाचन गर्दै परिचर्चा गरे ।

कवि बम देवानले कवि पाख्रिनमा अङ्ग्रेजी साहित्यको गहिरो दख्खल राख्ने र त्यसबाट प्रभावित भएको आफूले पाएको बताए । वैचारिक रूपमा सबल र आफूले पनि कवि पाख्रिनबाटै वैचारिकता सिक्ने अवसर प्राप्त गरेको उनले बताए । कवि पाख्रिनका कविताहरू माक्र्सवादी सौन्दर्यशास्त्रमा आधारित रहेको बताए । अन्य कविहरूले पनि पाख्रिनका कविताहरूले मनलाई बाध्ने खाल्को रहेको बताए ।

कवि सुदीप पाख्रिनले ‘एक टुक्रा बादल र मेरो सपनाको’ शीर्षकको कवितामाथि भिडियो समेत बनाउँदै सार्वजनिक गरियो । जसमा कवि सुदीप पाख्रिनले स्वराङ्कन गरेका थिए । धरान आसपासका विभिन्न स्थानमा खिँचिएको कविताको भिडियो हेरेपछि उपस्थित कविहरूले खुलेर प्रशंसा गरे । परिवारले कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिरहेको सन्दर्भमा कार्यक्रम गरेको छ ।

पाख्रिनको हालसम्म ‘शताब्दी, सन्त्रास र तिमी लहर नदीको’ कविता सङ्ग्रह प्रकाशित छ । ‘बुबाको लाष्ट कृति छापिएको १० वर्ष भएछ, किन नयाँ नर्गने भनेर सेलेक्टेड गरेर १० वटा कवितामात्रै छापेका हौं’ कवि सुदीप पाख्रिनले भने ।