धरान । धरान–१५ पाथीभरा लाइनमा अस्थायी प्रहरी बिटको शुक्रबार समुद्घाटन गरिएको छ ।
६ कोठे भवनको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीलगायतले संयुक्त रूपमा उद्घाटन गरेका छन् । करिब २३ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी निर्माण समितिका कोषाध्यक्ष शान्ता अधिकारीले जानकारी दिइन् । तर, हालसम्म आयतर्फ २० लाख ८१ ह्जार २ सय ४३ रुपैयाँ र ब्ययतर्फ २० लाख ७२ हजार ३ सय ८१ रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरिन् । केही खर्चका बीलहरू आउन बाँकी रहेकाले ब्ययतर्फ कम देखिएको उनले जानकारी दिइन् ।
प्रदेश सरकार, स्थानीय तह र जनसहभागिताबाट सङ्कलित रकमले भवन निर्माण सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष हिमाल दाहालले बताए । उनका अनुसार भवनमा महिला हिरासत, पुरुष हिरासतसहित एउटा किचन, दुई वटा आवास र बिट प्रमुख बस्ने गरी ६ वटा कोठा तयार पारिएका छन् । २०७५ भदौं २९ गते भवनको शिलान्यास गरिएको थियो । उक्त बिटमा हाल असइसहित ५ जनाको दरबन्दी रहेको छ ।
धरान–१५ जनसंख्याका हिसाबले धेरै भएकाले शान्तिसुरक्षामा प्रहरीलाई सहज होस् भन्ने ध्येयले अस्थायी बिट बनाएको अध्यक्ष दाहालले बताए । धरान १५ को श्यामचोकमा पनि अस्थायी बिट रहेको छ । २०६८ को जनगणनाअनुसार धरान–१५ मा १९ हजार ८ सय ९७ जनसङ्ख्या रहेको छ । भौगोलिक हिसाबमा धरानको २० वडामध्ये तेस्रो ठूलो वडा हो । २५ दशमलव ५४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । भौगालिक हिसाबमा धरान–२० सबैभन्दा ठूलो वडा हो ।
दाताबाट निर्माण सम्पन्न गरी वडाको शान्तिसुरक्षामा भूमिका निर्वाह गर्न सफल भएकोमा प्रमुख अतिथि सभामुख भण्डारी, विशेष अतिथि डिआइजी ज्ञवालीलगायतले शुभकामना व्यक्त गरेका छन् । निर्माण समितिका अध्यक्ष हिमाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रदेश १ का ट्राफिक प्रमुख भीम दाहाल, १५ नम्बर वडाध्यक्ष नरेश इवारामलगायतले शुभकामना मन्तब्य व्यक्त गरेको समितिका सचिव एवम् कार्यक्रम सञ्चालक कुमार श्रेष्ठले जानकारी दिए ।