धनकुटा/ केही दिनदेखिको अविरल वर्षाको कारण मुहानमा खानेपानीको पाइप बाढीले बगाएपछि खानेपानीको आपूर्ति अझै पनि सहज हुन नसक्दा धनकुटा बजारमा खानेपानीको हाहाकार मच्चिएको छ ।

धनकुटा न.पा.–७ वसपार्कको सार्वजनिक शौचालयमा समेत खानेपानीको अभाव भएपछि नगरपालिकाको दमकलबाट शनिबार आपूर्ति गरिएको छ । वर्षाको कारण निबुवा खोलाबाट पम्पिङ गरेर खानेपानी आपूर्ति हुने पाइप बाढीले बगाएको कारण खानेपानी आपूर्तिमा समस्या आएको छ भने लुङ्धाङ खानेपानी मुहानको पाइप अज्ञात समूहले काटिदिएपछि खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको हो ।

करिब २ हप्ता अघिदेखि धनकुटा बजारमा खानेपानी आपूर्ति नहुँदा जिल्ला अस्पताल, कारागार, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको क्याम्प, वरखगण सल्लेरी, बजारका होटलहरूमा खानेपानीको अति समस्या देखिएको छ । उनीहरूले वर्षाको समयमा पानी आउँदा पनि पिउन अयोग्य धमिलो पानी आउने गरेको गुनासो गरेका छन् ।

नियमितरूपमा खानेपानी नआएकाले जिल्ला अस्पताल धनकुटामा बिरामीको उपचारमा समस्या भएको छ । पानी अभावको कारण अस्पतालमा कार्यरत सुत्केरी वार्डमा सुत्केरी गराउन समस्या भएको, शौचालय र बिरामीको उपचारमा समस्या भएको अस्पतालका प्रमुख डा.अमिताभ ठाकुरले बताए । डा.ठाकुरले जिल्ला अस्पतालमा प्रशासन र मेडिकल लाइनका गरी करिब ५ दर्जनभन्दा बढी कर्मचारी, अस्पतालमा नियमितरूपमा आउने बिरामीलाई खानेपानी आपूर्ति नियमित नभएका कारण २

हप्तादेखि समस्या भएको बताए । उनले खानेपानीको समस्या भएपछि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई अनुरोध गरी दमकलमार्फत् आपूर्ति गरेर काम चलाउँदै आएको बताए ।

धनकुटा अस्पतालमा ३० हजार लिटरको अण्डरग्राउण्ड, विल्डिङको टपमा पनि ३० हजार लिटर क्षमताका गरी जम्मा ५० हजार लिटर क्षमताको पानी ट्याङ्की भए पनि सबै पानी सकिएको प्रमुख ठाकुरले बताए ।

यता जिल्ला प्रहरी कार्यालय धनकुटामा पनि खानेपानीको समस्या भएको प्रहरी इन्स्पेक्टर सुरज खड्काले बताए । प्रहरी कार्यालयका ३–४ सय जनालाई नियमित नुहाउन, शौचालय जानेलगायतको काममा समस्या भएको बताए । त्यसैगरी जिल्ला कारागारमा पनि खानेपानीको समस्या भएको छ ।

कारागारमा रहेको करिब ७० जना कैदीबन्दी र अन्य कर्मचारीलाई दैनिक ५ हजार लिटर पानी आवश्यक पर्ने गरेको बताइएको छ । यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी र बजारमा पनि खानेपानीको हाहाकार नै रहेको छ । लोकसेवाको परीक्षा दिन आएका ५–६ हजार परीक्षार्थीहरूलाई होटलमा राख्न खानेपानीको अभावले गर्दा ठूलो समस्या उत्पन्न भएको धनकुटा–७ हुलाक टोलस्थित लालीगुराँस होटलका सञ्चालक राजु डङ्गोलले बताए ।

होटलमा खान, बस्न पानी अभावको कारण समस्या भएको उनले बताए । यता धनकुटा–७ बसपार्कमा रहेको सार्वजनिक शौचालयमा पनि खानेपानीको अभाव भएको छ । पानी अभावको कारण शौचालय दुर्गन्धित भएको छ । अन्य स्थानबाट आएका यात्रु र लोकसेवा आयोगका परीक्षार्थीहरूले बसपार्कको शौचालयमा पानी प्रयोग गर्न नपाएपछि धनकुटा नगरपालिका वडा नंं.७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियाको पहलमा दमकलमार्फत् पानी आपूर्ति गरिएको छ ।

नगरपालिकाको दमकलले धनकुटा बजारदेखि ४ किलोमिटर टाढा पात्ले खोलाबाट नियमित खानेपानी आपूर्ति गरिरहेको धनकुटा नगरपालिका कार्यालयले जनाएको छ ।

धनकुटा नगरपालिकाको वडा नं.४, ५, ६ र ७ का बजारबासीलाई खानेपानीको अत्यधिक समस्या भएको छ । ४ वर्षअघि साना शहरी खानेपानी आयोजना सञ्चालन हुँदा २४ सै घण्टा सात तलामाथि घरको धुरीबाट स्वच्छ पानी खान पाइन्छ भन्दै खानेपानी उपभोक्ता समितिले बजारवासीसँग गरेको प्रतिबद्धता आज आएर कार्यान्वयन हुन नसकेको उपभोक्ताहरूले गुनासो गरेका छन् । उ

नीहरूले पिउन अयोग्य र अस्वस्थकर पानी पिउनुपरेको भन्दै गुनासो गरेका छन् । खानेपानी उपभोक्ता समितिका अध्यक्ष द्रोण गुरागाईंले लुङ्धाङ खानेपानी मुहान र निबुवा खोलाको खानेपानी पाइपको मर्मतपछि शुक्रबार साँझदेखि खानेपानी सहज भएको बताए ।

उनले खोलाले बगाएको पाइप नयाँ फेरिएको र काटिएको पाइप पनि मर्मत गरिएकोले अब नियमित पानी आउने बताए । गुरागाईंले फेरि ठूलो वर्षा निरन्तर भइरहने हो भने खानेपानीको समस्या उस्तै हुने बताए ।