पाँचथर / हिलिहाङ गाउँपालिका ५, सुभाङका दुई जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । अन्दाजी १७÷१८ बर्षीय जीवन सुहाङ र सन्दिप सेवाँ तमोर नदीमा बगेर बेपत्ता भएको हिलिहाङ गाउँपालिका ५ का वडा अध्यक्ष लक्ष्मी सुहाङले बताए ।
छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्कमा पाहुना गएका उनीहरु शुक्रबार स्थानीय दुई जना साथीहरुसँग माछा मार्न तमोर नदीमा गएका थिए । माछा मार्ने क्रममा सुहाङ र सेवाँ नदीमा बगेपछि घर फर्किएका दुई जनाले शनिबार बिहान मात्र उनीहरु नदीमा बगेको कुरा बताएका थिए । बेपत्ता दुबैको शनिबार दिनभरी खोजी गर्दा पनि फेला पार्न नसकिएको बताइएको छ ।