विराटनगर । विवाह गर्ने टुङ्गो गरेपछि अन्तिममा अस्वीकार गरेको भन्दै केटीपक्षले कुटपिट गर्दा विराटनगर–१४ का समानन्द यादवको मृत्यु भएपछि घटनामा मुछिएका तीन वडाअध्यक्षसहित आठ जना फरार भएका छन् ।
विराटनगर–१८ की एक किशोरीसँग समानन्दका छोरा राजेशको विवाह तय भएर तिलक स्वरूप ५० हजार दिएपछि केटापक्षले विवाह गर्न अस्वीकार गरेको भन्दै कुटपिटको घटना भएको थियो ।
विवाह रोकिँदा सामाजिक रूपमा बेइजती भएको भन्दै केटीपक्षले जेठ ३२ मा गाउँका भलाद्मीसहित विराटनगर–१४ का वडाअध्यक्ष बलदेव यादवको घरमा बोलाएको भेलामा विवाद बढ्दा समानन्दमाथि कुटपिट भएको थियो ।
जहदा गाउँपालिका–१ का अध्यक्ष प्रदीपचन्द्र यादव र विराटनगर–१८ का वडाअध्यक्ष सञ्जय साहसहित बलदेवको घरमा छलफल भइरहेको बेला केटीपक्ष कुटपिटमा उत्रिएको थियो । वडाअध्यक्षले विवाह नगर्ने भए ५ लाख जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको र त्यो नमानेपछि समानन्दमाथि कुटपिट भएको बताइएको छ ।
कुटपिटबाट घाइते भएका ६५ वर्षे समानन्दको उपचारका क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा असार २६ गते राति मृत्यु भएको थियो । केटीपक्षले भने विवादमा भित्तामा टाउको ठोक्किएर उनी घाइते भएको दाबी गर्दै आएको थियो ।
मृतक समानन्दका छोराहरूले वडाध्यक्षले नै कुट्न आदेश दिएको र त्यही कुटाइका कारण बाबुको ज्यान गएको भन्दै विराटनगर–१४ का वडाध्यक्ष बलदेव, १८ का वडाध्यक्ष सञ्जय साह, जहदा–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादव, वडाअध्यक्ष बलदेवका छोरा रविन यादव, शम्भु भनिने विजय यादव, भोला यादव, दीपेश यादव, प्रतिप यादवसहित आठजना विरुद्ध किटानी जाहेरी दिएका छन् । वडाअध्यक्षहरूको उपस्थितिमा उनीहरूको आदेशमा कुटपिट गरेको बताइएको छ ।
कुटपिटबाट समानन्द ‘सर्भाइकल स्पाइन’ का सी ३ देखि सी ६ सम्मका हड्डीहरू भाँच्चिएको थियो । पीडित पक्षको किटानी जाहेरीपछि तीनैजना वडाध्यक्षसहित ८ जना फरार छन् । मोरङ प्रहरीले आरोपी सबैको खोजी भइरहेको र नियन्त्रणमा आएपछि अनुसन्धान गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँजुले बताए । तीनै वडाध्यक्षहरू भारततर्फ भागेको प्रहरीको अनुमान छ ।
‘वडा अध्यक्षसहित सबैजना फरार छन्’ उनले भने, ‘हामीले सबै ठाउँमा खोजिसक्यौं कतै छैनन् ।’ स्रोतका अनुसार वडाअध्यक्षसहित अन्य आरोपीहरूलाई खोजी गर्न मोरङ प्रहरीले सादा पोसाकमा विशेष प्रहरी परिचालन गरेको छ ।
प्रहरी उनीहरूको खोजी गर्न भारतसम्म पुगेको स्रोतको दाबी छ । ‘आरोपीहरू भारततर्फ भागेको सूचना आयो । भरपर्दो स्रोतले दिएको सूचना हुनाले उनीहरूले भनेको ठाउँमा पनि पुग्यौं । त्यहाँ पनि भेटिएनन् । निरन्तर रूपमा खोजी कार्यमा रहेका छौं’ –एक प्रहरी अधिकारीले भने ।
मोरङ प्रहरीले आरोपीहरूलाई पक्राउ गर्न सइको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको बताइएको छ ।