भोजपुर/ जिल्लाको आमचोक गाउँपालिका–२ स्थित पर्यटकीय क्षेत्र थामडाँडामा रहेको पोखरीमा डुबेर २ जना युवाको मृत्यु भएको छ ।

वडानम्बर २ को यूँ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मङ्गलबार मृत्यु भएको हो । मृत्यु हुनेमा आमचोक–१ वासिङथर्पु धिन्ताङका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पा रहेको स्थानीयले जनाएका छन् ।

स्थानीयका अनुसार ६–७ जना युवाहरूको समूह थामडाँडा घुम्न गएको बेला पोखरीमा पौडी खेल्ने क्रममा दुईजनाको डुबेर मृत्यु भएको हो ।

घरबाट घुम्न भनेर निस्केका दुईजना पानी जमाएर राखिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि उनीहरूसँगै गएका साथीहरूले आमचोक–२ यूँमा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा खबर गरेका थिए ।

पोखरीमा डुबेका युवाहरूको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले निकालेको आमचोक–२ दाबुराङका स्थानीय देवन राईले जानकारी दिए ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए । घटनास्थल थामडाँडा जिल्लाको आमचोक र रामप्रसाद राई गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय सम्भावना बोकेको रमणीय ठाउँ हो ।