भद्रपुर/ थर विहार पण्डित । काम माटोका विभिन्न सामग्री निर्माण गर्ने । यस्तो काम गर्नेलाई कुमाल भनिन्छ तर, हामी त्यो जातिमा पर्दैनौं । पुर्खाहरूले गर्दै आएको कामलाई निरन्तरता मात्र दिएको हो । ‘अबका सन्तानले भने यो पेशा नगर्ने निश्चित भएको छ । हामी मरेपछि यो गाउ“मा एउटा घैला भेटिँदैन’ –झापाको दक्षिणीक्षेत्र कचनकवलमा एकै ठाउँमा रहेका पण्डितहरूको भनाइ हो यो ।

भारत पश्चिम सीतामडी भन्ने स्थानबाट वि.सं. २०२५ सालमा नेपाल आई विभिन्न जिल्लामा बसोबास गर्दै आएका छन् । केही परिवार झापाको घैलाडुब्बा र बिर्तामोडको चारपानेतिर रहेको बताउँछन् । उनीहरूले पुर्खाको पेशालाई निरन्तरता दिएपछि वर्षौंदेखि त्यो स्थान कुमाले गाउँले परिचित छ । सो स्थानमा हाल ६ घर रहेका छन् । थोरैको सङ्ख्यामा रहे पनि कुमाले गाउँ सबैको मुखमा छ । दक्षिणीक्षेत्रमा यो गाउँलाई प्रायः सबैले चिन्ने गरेका छन् ।

पुर्खाको पेशालाई निरन्तरता दिएको मात्र हो, यो पेशाबाट फाइदा नभई दुःख मात्र हुन्छ’ –६५ वर्षीय रामलखन पण्डितले भने । पछिल्लो समय माटो र दाउरासमेत महँगो भएकोले पेशा प्रति मन मर्दै आएको उनको भनाइ छ । नजिकै रहेको दशरथपुर सामुदायिक वनबाट माटो किनेर ल्याउनु परेको उनले सुनाए ।

स्थानीय सरकार र वन डिभिजनले निःशुल्क माटो र दाउरा उपलब्ध गराएमा पेशालाई निरन्तरता दिन सकिने जगदीश पण्डितको भनाइ छ । असारदेखि भदौसम्म वर्षाको समयमा काम नहुने हुँदा वर्षमा ९ महिनामात्र यो पेशा गर्दै आएको उनी बताउँछन् । माटो र दाउरा किनेर ल्याउनुपरेका कारण खानै नपुग्ने उनले बताए ।

उत्पादित सामग्री नजिकैका बजारमा खपत हुने गरेको उनले सुनाए । जग्गा–जमिन पनि नभएकोले जीवन धान्न समस्या हुँदै गएको उनको भनाइ छ । लोप हुँदै गएको पेशालाई स्थानीय सरकारले कुनै वास्ता नगरेको उनीहरू बताउँछन् । सामान्य नुन, तेल खानेभन्दा अरु यो पेशाले केही नटारेको रामलखन बताउँछन् ।

आफ्नो बलले चक्र घुमाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । स्थानीय सरकारले आफूहरूलाई पिछडावर्गमा राखेर कुनै वास्ता नगरेको उनको गुनासो छ । पहिले माटो वनबाट ल्याउँदा पैसा लाग्दैनथ्यो तर अहिले प्रतिट्याक्टर २ हजार लिने गरेको उनले सुनाए । बालुवाडीमा आठ पार्टी मिलेर आफूलाई नागरिकता चाहिँ दिएको उनले बताए ।

जङ्गलले माटो बिक्री गर्न नपाउने वन डिभिजन प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । माटो बेच्ने कुनै सम्झौता नभएकोले त्यस्ता सीपमूलक व्यवसाय गर्नेलाई माटो सित्तैमा उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।