इनरुवा/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा सडक–खण्डमा भएको दुर्घटनामा इनरुवा–६ मधेशाका युवानेता भोगेन्द्र घिमिरेको ज्यान गएको छ ।

इनरुवा–३ मा रहेको विद्युत् प्राधिकरणछेउको राजमार्गमा घिमिरे सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.५ ख ३३०९ नम्बरको ट्रकले बा.५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४२ वर्षीय घिमिरेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले घिमिरेको दुर्घटनालगत्तै घटनास्थलमै मृत्यु भएको बताए पनि प्रहरीले भने उपचारको क्रममा मृत्यु भएकोे जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार भोगेन्द्र पूर्वतर्फको सडक पेटीमा मोटरसाइकल रोकेर बसेका थिए । सोही क्रममा नजिकै यात्रु चढाउन रोकेको बसलाई ओभरटेक गर्ने क्रममा हुत्तिएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक गङ्गाराम सरदार प्रहरीको नियन्त्रणमा छन् ।

घिमिरे नेकपामा आबद्ध मधेशाका सक्रिय युवा नेता थिए । उनका दुई छोरा, छोरी छन् । दुर्घटनामा घाइते मोटरसाइकलमा पछाडि सवार इनरुवा–३ का सुनिल सरदारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।