पथरी / मोरङको कानेपोखरी गाउँपालिकाले स्मार्ट गाउँपालिकाको अवधाराणासहित गरिवका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाईदिने काम जारी राखेको छ । गाउँपालिकाले पालिका भित्रको खरको छानो विस्थापित गर्न आर्थिक बर्ष २०७५÷०७६ देखि २६ लाख बजेटबाट ‘खरको छाना विस्थापित कार्यक्रम’ लागु गर्दै गरिव जनतालाई जस्ता पाता वितरण कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले ७ वटै वडाका गरिवहरुको खरको छाना क्रमश.. विस्थापित गर्दै जाने गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए । आर्थिक बर्ष २०७६/०७७ को ‘खरको छाना विस्थापित कार्यक्रम’मा ३० लाख विनियोजन गरेको गाउँपालिका प्रवक्त सुशिल बुढाथोकीले बताए ।
बुधबार वडा नं. ६, को चैतलाल थारु,दावा तामाङ,गोपाल दर्नाल, राममाया तामाङ र गंगा भुजेलले आफ्नो वडाबाट जस्तापाता पाएका छन् । उनिहरुले ८ फुटे २२ पाता रातो १ नम्बर जस्तापाता पाएको हो । जस्तापातालाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम,वडाध्यक्ष खड्ग बस्नेत र धनबहादुर राईले वितरण गरेका थिए ।