धरान/ वर्षायाममा समेत खानेपानी खुवाउन नसकेको भन्दै सङ्घीय लिम्बुवान मञ्च नेपाल नगरसमितिले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

करोडौंको लगानी गरेर आइयुडिपी सञ्चालन गरे पनि खानेपानी खुवाउन नसकेको भन्दै मङ्गलबार धरान उपमहानगरकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीलाई भेटेर ध्यानाकर्षण गराएको हो । धराने जनतालाई पानी खुवाउन नसकी अर्बौं ऋणको भार बोकाएको नगरअध्यक्ष सञ्जुहाङ साँवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तत्काल खानेपानी व्यवस्था गर्न मञ्चले अपिल गरेको छ । विगतमा विकास विरोधी तत्वले निर्माण गर्न नदिएका र अहिले आएर खानेपानी संस्थानले असहयोग गरेको भन्दै दायित्वबाट पञ्छिने प्रयास परियोजनाले गरेको मञ्चको आरोप छ ।

खानेपानी समस्या स्थानीय सरकारले तुरुन्त समाधान नगरे धराने जनता र मञ्चले वैकल्पिक मार्ग अपनाउन बाध्य हुने नगरअध्यक्ष साँवाले चेतावनी दिए ।