धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडी/ एमएस/ एमडिएस (पिजी)को भर्ना तत्काल अगाडि नबढाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रतिष्ठानले विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै डा.पुष्पमणि वरालले मङ्गलबार दर्ता गरेको रिटको सुनुवाइ गर्दै सर्वाेच्चले अर्काे फैसला नहुञ्जेलसम्म भर्ना रोक्न अन्तरिम आदेश दिएको हो ।
प्रतिष्ठानको शैक्षिक सत्र २०७५/७६ को एमडी, एमएस, एमडिएसलगायतका विषय अध्ययनका लागि सूचना प्रकाशित भएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७ (५) ले स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएको कुल सिट सङ्ख्यामध्ये विदेशी विद्यार्थीको सङ्ख्या एक तिहाइभन्दा बढी हुने छैन भन्ने उल्लेख भए पनि प्रतिष्ठानको सूचनामा केही विषयमा नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीहरूलाई धेरै सिटको व्यवस्था गरिएको थियो ।