धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विपन्न, असहाय, बेवारिसे, ज्येष्ठ नागरिक, अपाङ्ग, कैदीबन्दी आदिलाई बिरामीको अवस्था हेरी दिइँदै आएको निःशुल्क उपचार तथा छुट सुविधा बन्द गरेको छ ।

प्रतिष्ठानले यस्तो सुविधा बन्द गरेपछि सरकारले नै सुविधा उपलब्ध गराएका लक्षित वर्गले उपचार सेवाबाट बञ्चित हुनुपरेको छ । सरकारी अनुदानबाट चल्ने अस्पतालहरूले संस्थाको खर्चको कम्तिमा १० प्रतिशत गरिब, असहायलगायतको उपचारमा खर्च गर्नुपर्ने प्रावधान छ । तर प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गतको निःशुल्क र छुट सुविधा बन्द गरिदिएपछि निम्न आयस्तरका गरिब तथा असहाय र ज्येष्ठ नागरिकहरू समस्यामा परेका हुन् ।

प्रतिष्ठानले असार १३ मा सूचना तथा सर्कुलर जारी गर्दै यो आर्थिक वर्षका लागि छुट्याइएको बजेट सकिएकाले सुविधा बन्द गरिएको जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहले जारी गरेको उक्त सूचना तथा सर्कुलरमा आगामी आर्थिक वर्षमा भने निःशुल्क सेवा पुनः सञ्चालन गरिने उल्लेख छ । प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङ आगामी आर्थिक वर्षदेखि सेवा पुनः शुरु हुने भएकाले असारभरि आउने त्यस्ता बिरामीहरू भने समस्यामा पर्ने बताउँछन् ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक विकास साह अलि–अलि पैसा तिर्न सक्नेहरू पनि निःशुल्कका लागि आउने क्रम बढेपछि यस्तो सूचना जारी गरिएको बताउँछन् । तर डेङ्गु लागेका र तिर्नै नसक्ने आर्थिक अवस्था भएकाहरूलाई निःशुल्क उपचार भइरहेको उनले बताए ।