धरान । आर्थिक वर्ष २०७५/०७६ मै गौरवको आयोजनामा परेको धरान–१६ को जनपथ सडकको स्थानीयले दुरावस्था देख्न थालेको आधा दशक बढी भयो । यो सडकमा सोही आ.व.मा २ करोड बजेटसमेत पर्यो । तर, कामको सुस्तता देखेर स्थानीयबासी पटक–पटक नगरपालिका पुगे । कामको अवस्था जहाँको त्यहीँ छ ।
त्यही सडकमै पर्ने गणेशमान चोकमा किराना पसल गर्दै आएका निश्चल श्रेष्ठले जनपथ सडकको दुरावस्था देखेको ७ वर्षभन्दा बढी भएको बताए । पछिल्लो सात वर्षमा सडक बनेको उनलाई स्मरण छैन । ‘मैले पसल थालेको ७ वर्ष भइसक्यो, जस्ताको तस्तै छ सडक’–उनी भन्छन् । यो बीचमा ड्रेनको काम भयो । तर, कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले आक्रोस पोखे । ‘हिउँदको समयमा बसिसक्नु हुँदैन’–गणेशमान चोकमै घर भएकी गङ्गामाया लिम्बू सुनाउँछिन् । उनका अनुसार सडक कालोपत्रे भएको पछिल्लो ६–७ वर्षयता आफूलाई जानकारी छैन । ‘खाल्डाखुल्डी प¥यो भने घरी–घरी टाल्छन्, खोइ के गरेको हो ?’–उनी भन्छिन् । धरानका गौरवका आयोजनाहरू कछुवा गतिमा छन् ।
यस बाटोमा आगामी आर्थिक वर्षमा पनि १ करोड ३० लाख बजेट परेको छ । आ.व. २०७५/०७६ मा ७ करोड रुपैयाँ बजेट गौरवका आयोजनाका लागि छुट्याइएको थियो । गौरवको आयोजनामा आगामी आर्थिक वर्षमा १५ करोड बजेट छुट्टिएको छ । कछुवाको गतिमा दौडिएका गौरवको आयोजनामा यसपटक झण्डै २ दशकदेखि विवादको भूमरीमा फसेको बसपार्क आयोजना पनि जोडिएको छ । जुन, केही समयअघि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बिनै शिलान्यास गरिएको भन्दै तीव्र विरोधसमेत भएको थियो । गतवर्षको माघ २७ गते शिलान्यास गर्दै पुनः निर्माणको चरणमा रहेको बसपार्कलाई यसवर्ष गौरवको आयोजनामा नगरपालिकाले राखेको छ ।
गौरवको आयोजना चाँडै सम्पन्न हुनेमा धराने जनता आश्वस्त छैनन् । जनपथ सडकका स्थानीयबासी मुरारी भट्टराई भन्छन्, ‘हामी डेलिगेसन धेरैचोटी गयौं, सुनुवाइ हुँदैन । बाटोमा २ करोड छुट्याइयो तर, काम गराइ तपाईंले देखिहाल्नु भएको छ ।’ उनका अनुसार यसपटक १ करोड ३० लाख बजेट विनियोजन गरेको छ । ‘काम एकदमै सुस्त छ । स्थानीयले ताकेता गर्दा–गर्दा यति काम भएको छ । लेखनाथ चोकतिर त बाटो नै खहरे बनेको छ’– उनले भने ।
आ.व. २०७५/०७६ मा जनपथ सडकसहित धरान–१४ को विजयपुर सडक, धरान–२ को माछाभौडी पार्क निर्माण, देशीलाइन सडक, धरान–८ को नमूना बस्ती निर्माण, धरान–१७ को रेल्वेचौक व्यवस्थापन, धरान–११, १७ र १८ लाई छुने हङ्कङरोडमा ७ करोड बजेट विनियोजन गरेको थियो । त्यस सडक तथा पार्क निर्माणको प्रगति शून्य छ । यसपटक भने यीसहित बसपार्क, धरान–८ को सभागृह मर्मतलगायत थपिएका छन् । जुन आयोजना आफैमा सुस्त गतिमा चलिरहेको छ । नगरको गौरव बढाउने धरान–१४ को बहुजातीय सङ्ग्रहालय भने गौरवको आयोजनाभित्र पर्न सकेको छैन । ‘आदिवासी जनजातिको शहर घोषणा भएको हिसाबले सङ्ग्रहालय गौरवको आयोजनाभित्र पर्नु चाहिँ पर्ने हो । तर परेको छैन’–सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष ङावालप्टु शेर्पा भन्छन्, ‘जम्मा तीसलाख रुपैयाँ छुट्टिएको छ ।’
गौरवका आयोजनामा पर्ने आधारहरू के हुन् भन्ने विषयमा ब्लाष्टले जानकारी लिँदा उपमहानगरको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख इञ्जिनियर सुरज श्रेष्ठले पर्यटकीय पूर्वाधार र व्यापारिक मार्गहरू जुन ५० फिटभन्दा माथि विस्तार भएका छन्, त्यस्ता सडकहरू गौरवको आयोजनाभित्र परेको बताए । उनले गौरवको आयोजनमा ठेक्का खुलाएर गर्नुपर्ने भएकाले केही ढिलाइ भएको बताए । ‘गौरवको आयोजनामा जुन बजेट विनियोजन भएको छ, त्यसमा टेण्डर प्रक्रिया लामो हुन्छ । हरेक चरणमा स्वीकृति लिनुपर्ने हुन्छ, त्यही भएर ढिलाइ भइरहेको छ’–शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख इञ्जिनियर सुरज श्रेष्ठ भन्छन्, ‘प्रशासकीय अधिकृत सरुवा भइरहेका कारणले पनि गौरवका आयोजना सुस्त गतिमा चलेको हो ।’
































