भण्टावारी / विकास बजेटमा जनप्रतिनिधिको मनोमानी बढेको भन्दै कोशी गाउँपालीका वार्ड नम्बर २ का स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।
कोशी गाउँपालीका वार्ड नम्बर २ का अध्यक्ष हिरालाल यादवले आफूखुसी उपभोक्ता समिति बनाउदै कमिसनमा काम गरेको भन्दै उनीहरूले बिहिवार विरोध प्रदर्शन गरेका हुन् । पारदर्शी काम नगर्ने र गाउँमै वार्ड कार्यालय र स्वास्थ चौकीको भवन निर्माण गर्न जग्गा दिदा समेत निर्माण नगरी अन्तै सार्ने काम गरेकोले बिरोध गरिएको स्थानीय ब्रहमदेव यादवले बताए ।
निर्वाचित भएदेखि नै २ नम्बर वार्डका अध्यक्ष हिरालाल यादवले आफन्तलाई उपभोक्ता समितिमा राख्ने र मनोमानी तवरले काम गराउदै आएको उनले बताए । गाउँ गाउँमा सिंहदरबारको नाराका साथ स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुन नसकेको ब्रहमदेवको भनाइ छ ।
२ नम्बर वार्डमा अपेक्षित विकास निर्माणकार्य नभएकोले सर्वसाधारणमा निराशा भएको उनले बताए । जनअपेक्षा अनुसार २ नम्बरका वार्डका अध्यक्ष हिरालाल यादवले काम गर्न सफल नभएको अर्का स्थानीय अमरलाल यादव बताउँछन् । सहज र सरल रूपमा सेवा पाउने हिसाबले गाउँमै आफूहरूले जग्गा उपलब्ध गराईदिदा समेत वार्ड अध्यक्षले मनोमानी गर्न उद्देश्यले अन्तै सार्ने काम गरेको अमरलालको बुझाई रहेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि वार्डमा विकासका काम लथालिङ्ग रूपमा भएको उनले बताए । जनमतको कदर गर्दै जनचाहना बमोजिम विकास गर्न अमरलाल आग्रह गर्छन् । गाउँपालीका अध्यक्षले जनताको चाहनाअनुसार कार्य गर्न वार्ड अध्यक्ष हिरालाल लाई सम्झाउदा समेत वार्ड अध्यक्षले आफूखुसी मनोमानी गर्दै आएको ब्रहमदेव यादवले बताए ।
स्वास्थ चौकी र वार्ड कार्यालयको भवन निर्माण गर्दा विरोध भएपछि कोशी गाउँपालीका अध्यक्षले तत्काल काम रोक्न र जनअपेक्षा अनुसार काम गराउने प्रतिबद्धता जनाएको यादवले बताए । गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जनताको सेवा गर्नु जनप्रतिनिधिको दायित्व भएकोले त्यसबाट न पन्छिन र जनमुखी काम गर्न आग्रह गरेका छन् ।
जनप्रतिनिधिले अपारदर्शी र मनोमानी काम गरेको पाइए असार महिनामा मात्रै नभई अरुबेला पनि ध्यानाकर्षण गराउन आवश्यक रहेकोे अध्यक्ष अन्सारीको भनाइ छ । काम गर्दै जादा त्रुटि भए सुधार गरेर जनसेवामा लाग्नुपर्नेमा उनले जोड दिए ।
भवन निर्माणकार्यमा २ वडावासीले बिरोध गरेकोले तत्काल लाई काम रोकिएको बताउदै अध्यक्ष अन्सारीले जनप्रतिनिधि र सर्वसाधारणसँग आवश्यक छलफल गरेर काम सुचारु गराउने बताए । यता २ नम्बर वार्ड अध्यक्ष हिरालाल यादवले जग्गा न पाएपछि गाउँमा वार्ड कार्यालय र स्वास्थ चौकीको भवन निर्माण नगरेको दाबी गरे । भवन अन्तै बनाउने भएपछि जग्गा दिने र बिरोध गर्ने काम भएको यादवको भनाइ छ । आफूमाथि लगाइएको आरोप गलत भएको उनले दाबी गरे ।

































