उदयपुर/ उदयपुरको बेलकाले एकीकृत नगरबासीका लागि प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेको छ ।
बेलका नगरपालिकाले एक कार्यक्रमको साथ शनिबार नगरका एकीकृत नगरबासीका लागि प्रथम पञ्चवर्षीय योजना निर्माण सार्वजनिक गरेको हो ।
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नगरपालिकाले तयार पारेको आवधिक योजना सार्वजनिक गरेको थियो । आवधिक योजनाको अन्तिम वर्ष २०८१ सम्ममा विभिन्न शीर्षकमा करिब ३ अर्ब ८७ करोड १३ लाख २६ हजार ६ सय ८३ रुपैयाँ खर्च अनुमान गरिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्तिक) ले बताए ।
आवधिक योजनाको प्रमुख रणनीतिमा कृषिको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण गरी उत्पादन र उत्पादकŒवमा वृद्धि, गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरी स्वास्थ्य तथा सक्षम मानव संसाधनको विकास गर्ने, गुणस्तरीय पूर्वाधारद्वारा नगर विकासको दिगो आधार निर्माण गरिने लक्ष्य लिइएको मेयर थापाले बताए ।
प्राकृतिक स्रोतसाधनको वैज्ञानिक व्यवस्थापनबाट आर्थिक, सामाजिक तथा वातवरणीय लाभको उपयोग, गरिबी निवारण, पोषण तथा खाद्य सुरक्षा, भूउपयोगी तथा भूमि व्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, सामाजिक समानता, सामाजिक सुरक्षा र संरक्षणको अभिवृद्धि गरी सामाजिक न्यायको प्रवद्र्धन गर्ने, चुस्त संरचना, नतिजामुखी प्रशासन, प्रविधिमैत्री कार्यसम्पादन, सेवामुखी र सदाचारयुक्त स्थानीय सरकारको विकासको परिकल्पना गरिएको पालिकाले जनाएको छ ।
योजनामा सुशासनको स्थापना, स्थानीय कच्चापदार्थ र कृषिमा आधारित उद्योग व्यवसायको प्रवद्र्धन, पर्यटकीय उपज तथा गन्तव्यको विकास गरी आर्थिक विकास र रोजगारी अभिवृद्धि, उद्यमविकास तथा पर्यटन पवद्र्धन, जलवायु परिवर्तन तथा वातवरणीय सन्तुलन, आन्तरिक राजश्व वृद्धि तथा वित्तीय सुशासन, आर्थिक विकास र सामाजिक विकास तथा सुरक्षालाई मुख्य रणनीतिको रूपमा लिइएको मेयर थापाले बताए ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा ५ वर्षमा ८० प्रतिशत विद्यार्थी एसईई परीक्षामा ए प्लस गे्रड ल्याउने गरी शिक्षा नीति तयार गरिएको छ । आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्मका बालबालिकालाई विद्यालयमा निरन्तरता र टिकाइराख्न खाजाको व्यवस्थापन गर्ने, प्राविधिक विषयमा स्नातक तहसम्म सञ्चालन गर्ने, एक घर एक धाराको योजना ल्याएको मेयर थापाले बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले काम गरेको दुई वर्षपछि बेलका नगरपालिकाले आवधिक योजना तयार गरेको हो । ‘सन्तुलित विकास, सम्मानित जीवन, समावेशी पूर्वाधारः प्रविधि तथा वातवरणीय सन्तुलनसहित समाजवाद उन्मुख बेलका नगर’ मुख्य नारा बनाई नगरपालिकाले पञ्चवर्षीय आवधिक योजना निर्माण गरेको छ ।
सीमित स्रोतसाधनबाट धेरै काम गर्नुपर्ने भएकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी विमानस्थल, कृषि तथा पर्यटन क्षेत्रको विकास गरिने मेयर थापाले बताए । आवधिक योजना किताबमा सबै विषय समेटिएको भए पनि केही छुट्पुट भएमा रायसल्लाहबाट थप्ने उनले बताए । कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आवधिक योजना नगरविकासको पहिलो खुड्किलो भएको बताए । उनले आवधिक योजनालाई नै टेकेर बाँकी रहेका काम र विकास निर्माणलाई अघि बढाउने हो भने समृद्ध बेलका नगर बन्ने कुरामा कसैले छेक्न नसक्ने मन्त्री आङ्बोले ठोकुवा गरेका छन् ।
मन्त्री आङ्बोले विकासमा यो र त्यो, फलानो पार्टीभन्दा पनि माथि उठेर जनताको हित हुने गरी काम गर्न आग्रहसमेत गरेका छन् । बेलकाको आवधिक योजना प्रदेश १ का सबै स्थानीय तहलाई पाठ हुनसक्ने उनले बताए । कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले आवधिक योजना नगरपालिकाको मुख्य सम्पत्तिप्रति जोड दिएका थिए भने आवधिक योजनाले निर्दिष्ट गरेका योजनालाई आत्मसात गर्नसके नगरको विकासमा कुनै समस्या नरहने बताएका छन् ।
उक्त कार्यक्रममा बेलका नगरक्षेत्रमा जन्मिएर देशका विभिन्न तहमा रहेका ६ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा.उपेन्द्र कोइराला, काष्ठमाण्डप क्याम्पसका प्रमुख पेशल लुइटेल, फोटो पत्रकार ईश्वर रौनियार, डा.रामचद्र लामिछाने, नन्दलाल बाँस्तोला रहेका छन् ।
































